काठमाडौं-राष्ट्रिय सभाका सांसदहरूले मुलुकका समसामयिक तथा गम्भीर जनसरोकारका विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले महिला हिंसा, न्यायपालिकाको सुरक्षा, आपराधिक घटनामा संलग्नमाथिको कारबाही तथा पूर्वाधार विकासका समस्याबारे सरकारलाई सचेत गराएका हुन्।
सांसद पूजा चौधरी र रुक्मिणी कोइरालाले बलात्कार तथा हत्याका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरे। सांसद चौधरीले तीन वर्षीया बालिकाको बलात्कार तथा हत्यामा संलग्न व्यक्तिलाई बाल सुधार गृहमा पठाइएको र अन्यलाई धरौटीमा रिहा गरिएको विषयप्रति आपत्ति जनाउँदै यस्ता गम्भीर अपराधमा संलग्नलाई कडा सजाय दिनुपर्ने बताइन्। उनले आपराधिक मनोवृत्ति भएका व्यक्तिलाई समाजमा खुला रूपमा छोड्नु गलत हुने भन्दै दोषीलाई जन्मकैदको व्यवस्था गर्न माग गरिन्। सांसद कोइरालाले देशका विभिन्न स्थानमा महिला हिंसा तथा बलात्कारका घटना दोहोरिँदै गएको उल्लेख गर्दै त्यसतर्फ गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराइन्।
सांसद विष्णुबहादुर विश्वकर्माले भदौ २४ गते सर्वोच्च अदालतमा भएको तोडफोडको घटनाप्रति असन्तुष्टि व्यक्त गर्दै सर्वोच्च अदालतजस्तो संवेदनशील र गरिमामय संस्थाको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन आग्रह गरे। उनले घटनाको उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरे।
त्यसैगरी, सांसद कृष्णप्रसाद अधिकारीले देशका विभिन्न स्थानमा सडक, पुल तथा बाटोघाटोको अवस्था दयनीय रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। विशेषगरी रसुवा जिल्लाका विभिन्न गाउँपालिकामा सडक पहुँचको अभावले स्थानीय नागरिकले सास्ती भोग्नुपरेको उल्लेख गर्दै उनले तत्काल सडक मार्ग सञ्चालनमा ल्याउन तथा खाद्यान्न, औषधि र अन्य अत्यावश्यक उपभोग्य वस्तुको नियमित आपूर्ति सुनिश्चित गर्न सरकारसँग आग्रह गरे।



प्रतिक्रिया