अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको काम जनतामा विश्वास र भरोस सिर्जना गर्ने हो, आतंक सिर्जना गर्ने होइन: उपमहासचिव भट्टराई

सरकारको काम जनतामा विश्वास र भरोस सिर्जना गर्ने हो, आतंक सिर्जना गर्ने होइन: उपमहासचिव भट्टराई


काठमाडौं– नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले वर्तमान सरकारको गतिविधिले जनतामा विश्वास र भरोसा जगाउनुको सट्टा भय र आतंकको वातावरण सिर्जना गर्न खोजेको आरोप लगाएका छन्।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उपमहासचिव भट्टराईले सरकारको मुख्य दायित्व नागरिकलाई सहजीकरण गर्नु रहेको उल्लेख गर्दै त्रास र दबाबका आधारमा शासन चलाउने प्रवृत्ति लोकतान्त्रिक मूल्य-मान्यताविपरीत हुने बताए।

उपमहासचिव भट्टराईले सरकारको काम जनतामा विश्वास र भरोसा निर्माण गर्नु हो भन्दै आतंक सिर्जना गरेर शासन गर्न खोज्नु उचित नहुने धारणा राखे। मान्छेलाई तर्साएर वा धम्क्याएर शासन गर्ने शैली लोकतान्त्रिक व्यवस्थासँग मेल नखाने उनको भनाइ थियो।

‘सरकारको काम सहजीकरण गर्ने हो, आतंक मच्चाउने होइन,’ उपमहासचिव भट्टराईले भने, ‘सरकारको काम जनतामा विश्वास र भरोस सिर्जना गर्ने हो, आतंक सिर्जना गर्ने होइन।’

उपमहासचिव भट्टराईले वर्तमान सरकारले जनताबाट प्राप्त म्यान्डेटअनुसार पाँच वर्षे कार्यकाल पूरा गरोस् भन्ने एमालेको चाहना रहेको बताए। मुलुक फेरि अस्थिरतातर्फ नजाओस् भन्ने पार्टीको स्पष्ट धारणा रहेको उल्लेख गर्दै उनले सरकारको पाँच–छ महिनाको कार्यशैलीले भने सकारात्मक संकेत नदिएको टिप्पणी गरे।

‘बिहानीले दिउँसोको संकेत गर्छ भनेझैँ सरकारको पाँच–छ महिनाको गति र मति सही ट्र्याकमा देखिएको छैन,’ उपमहासचिव भट्टराईले भने।

उपमहासचिव भट्टराईले लोकतन्त्र, कानुनी शासन, संविधानको सर्वोच्चता, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र वैयक्तिक स्वतन्त्रता जस्ता विषय कुनै पनि लोकतान्त्रिक व्यवस्थाका आधारभूत मान्यता भएको उल्लेख गरे। तर वर्तमान सरकारले कानुनी शासन, संविधानको सर्वोच्चता र खुला समाजका मूल्यहरूको संरक्षणमा अपेक्षित भूमिका निर्वाह गर्न नसकेको उनको आरोप थियो।