अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दशैं–तिहारपछि सरकारविरुद्ध बृहत् आन्दोलन गर्ने प्रचण्डको घोषणा

दशैं–तिहारपछि सरकारविरुद्ध बृहत् आन्दोलन गर्ने प्रचण्डको घोषणा


काठमाडौं-नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशैं-तिहारपछि सरकारविरुद्ध बृहत् आन्दोलनको तयारी भइरहेको बताएका छन्। शुक्रबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सरकारको कार्यशैलीप्रति जनआक्रोश बढ्दै गएको दाबी गरे।

प्रचण्डले सरकारमाथि सुकुम्बासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी तथा ट्रेड युनियनसँग आबद्ध व्यक्तिमाथि दमन र ज्यादती गरेको आरोप लगाए। सरकारका यस्ता गतिविधिविरुद्ध प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याएर संयुक्त रूपमा आवाज उठाउने प्रयास भइरहेको उनको भनाइ थियो।

उनले विभिन्न राजनीतिक दल, बुद्धिजीवी तथा नागरिक समाजका प्रतिनिधिसँग निरन्तर छलफल भइरहेको र ती प्रयास सकारात्मक दिशामा अघि बढिरहेको बताए। सरकारविरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै त्यसको तयारी भइरहेको उनले बताए।

प्रचण्डले चाडपर्वको अवधिमा पनि आन्दोलनको तयारीलाई निरन्तरता दिइने र दशैं–तिहारपछि देशको राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै थप कदम चालिने बताए। उनले प्रतिक्रान्तिकारी गतिविधि र षड्यन्त्रविरुद्ध नयाँ पहल, प्रतिवाद तथा आन्दोलनको आवश्यकता रहेको धारणा व्यक्त गरे।

उनले वर्तमान सरकारका गतिविधिका कारण जनतामा रहेको भ्रम क्रमशः हट्दै गएको दाबी गर्दै स्थापित राजनीतिक दल, नेता तथा उनीहरूले उठाएका एजेण्डाप्रति जनताको आकर्षण पुनः बढ्न थालेको बताए। देशका विभिन्न क्षेत्रमा पुग्दा नेकपा र कम्युनिस्ट आन्दोलनप्रति जनताको समर्थन बढ्दो क्रममा रहेको आफूले महसुस गरेको उनको भनाइ थियो।

प्रचण्डले सरकार नागरिकको पक्षमा प्रभावकारी ढंगले काम गर्न नसकेको आरोप लगाउँदै नेता–कार्यकर्तालाई जनतामाझ पुगेर पार्टीका एजेण्डा स्पष्ट रूपमा राख्न आग्रह गरे। साथै, प्रतिक्रान्तिलाई परास्त गर्दै राजनीतिक आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने संकल्पका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए।