काठमाडौं-लागुऔषध (खैरो हेरोइन) मुद्दामा पक्राउ परेका प्रतिवादीलाई धरौटीमा छुटाइदिने भन्दै रकम लिएको आरोपमा एक बिचौलियासहित दुई जना काठमाडौं जिल्ला अदालत परिसरबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका-६ का अजय थापा मगर र विदुर नगरपालिका-९ का हरिराम गिरी रहेका छन्।
अदालतका अनुसार लागुऔषध मुद्दामा बयानका लागि इजलाससमक्ष पेस गरिएका प्रतिवादी विमल घलेलाई धरौटीमा छुटाइदिने प्रलोभन तथा आश्वासन दिई उनकी पत्नीबाट उनीहरूले ४ लाख ७९ हजार रुपैयाँ लिएका थिए।
उक्त रकमसहित उनीहरू शुक्रबार काठमाडौं जिल्ला अदालत परिसरमा भेटिएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो। अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार उनीहरूलाई घुसबापत लिएको रकमसहित नियन्त्रणमा लिइएको हो।
यसैबीच, अदालतले शुक्रबार नै लागुऔषध मुद्दाका प्रतिवादी विमल घलेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको सूचना अधिकारी खतिवडाले जानकारी दिए।
पक्राउ परेका दुई जनामाथि रकम लेनदेन तथा प्रतिवादीलाई धरौटीमा छुटाइदिने आश्वासन दिएको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ।



प्रतिक्रिया