धनकुटा-धनकुटाको छथरजोरपाटी गाउँपालिका-३ बञ्चरेमा टाटासुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को. १ ज २४९४ नम्बरको टाटासुमो आइतबार बिहान करिब ८ः१५ बजे ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा छथरजोरपाटी गाउँपालिका–३ की ६० वर्षीया शोकमाया लिम्बुको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा छथरजोरपाटी–३ का २१ वर्षीय आशिष लिम्बु गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको छ।
दुर्घटनामा गाडी चालक धनकुटा नगरपालिका–९ गुठीटारका ३१ वर्षीय खगेन्द्र खत्री, छथरजोरपाटी-४ की ४० वर्षीया धनमाया राई, उनका ७ वर्षीय छोरा न्युहाङ सुब्बा र २ वर्षीया छोरी आरध्या लिम्बु घाइते भएका छन्।
त्यस्तै, छथरजोरपाटी-४ का २६ वर्षीय आइन्द्र लिम्बु र ३० वर्षीय अबिन लिम्बु तथा छथरजोरपाटी–३ का २७ वर्षीय भवानी लिम्बु र ४७ वर्षीय हेमबहादुर लिम्बु पनि घाइते भएका छन्।
घाइतेमध्ये छथरजोरपाटी–४ की ३३ वर्षीया पुनम लिम्बुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया