काठमाडौँ-प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य तथा ‘नयाँ पत्रिका’ दैनिकका पत्रकार टेकराज थामीको बाढीमा परी निधन भएकोप्रति प्रेस चौतारी नेपालले गहिरो दुःख व्यक्त गरेको छ।
गत १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका थामीको निधनको खबरले सङ्गठन स्तब्ध र मर्माहत भएको प्रेस चौतारी नेपालले जनाएको छ। सङ्गठनका महासचिव हिरामान लामाले शोक वक्तव्य जारी गर्दै थामीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
शोक वक्तव्यमा थामीले गणतन्त्र नेपालको स्थापना, लोकतान्त्रिक आन्दोलन, समाजवादउन्मुख संविधान निर्माण तथा सामाजिक न्यायका पक्षमा पत्रकारितामार्फत महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरिएको छ।
त्यस्तै, सत्य, तथ्य र जनपक्षीय पत्रकारिताप्रतिको उनको प्रतिबद्धता तथा श्रमजीवी पत्रकारको अधिकार र प्रेस स्वतन्त्रताका लागि उनले खेलेको भूमिका नेपाली पत्रकारिताको इतिहासमा सदैव स्मरणीय र अनुकरणीय रहने चौतारीले जनाएको छ।
प्रेस चौतारी नेपालले दिवंगत थामीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा उनका सहकर्मीहरूप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।



प्रतिक्रिया