अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिशूली-१ आयोजनाको सुरुङबाट निकालिएका २४ शव नुवाकोट ल्याइयो

त्रिशूली-१ आयोजनाको सुरुङबाट निकालिएका २४ शव नुवाकोट ल्याइयो


नुवाकोट-रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङमा पुरिएका २४ वटा शव निकालेर नुवाकोट ल्याइएको छ।

रसुवाको आमाछोदिङ्गो गाउँपालिका–१ हाकुस्थित २१६ मेगावाट क्षमताको त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङबाट असोज १ र २ गते गरी २४ वटा शव निकालिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) इकवाल हवारीका अनुसार सुरुङबाट निकालिएका शवलाई असोज ३ गते शनिबार नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका–६ स्थित केन्द्रीय कारागार कार्यालय, खम्बाक्याम्प परिसरमा ल्याइएको हो।

बाढीपछि लामो समयदेखि सम्पर्कविहीन रहेका आफन्तको शव हुन सक्ने भएकाले पहिचानका लागि परिवार तथा आफन्तजनलाई खम्बाक्याम्प पुग्न प्रहरीले आग्रह गरेको छ।

शवको सनाखत तथा आवश्यक समन्वयका लागि प्रहरी निरीक्षक आशिष साहलाई ९८५५०९१७५७ मा सम्पर्क गर्न सकिने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।