अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू


काठमाडौं-सरकारले साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएल भिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु गरेको छ।

पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको अत्यधिक चाप र लामो समयदेखि थन्किएर रहेको लाइसेन्स छपाइ सम्बन्धी जटिल समस्या समाधान गर्न यो नयाँ प्रविधि अपनाएको हो।

यो नयाँ प्रणाली लागू भएसँगै नयाँ लाइसेन्स लिने तथा पुरानो नवीकरण गर्ने सम्पूर्ण प्रक्रिया थप द्रुत, सहज र प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ।

ईडीएलभिआरएसमा अपलोड भएको सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने र सुरक्षण मुद्रणले लाइसेन्स छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ।

नयाँ प्रविधिको सुरुवात गर्दै पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि हुलाक मार्फत सम्बन्धित कार्यालयहरुमा पठाइसकिएको विभागले जनाएको छ ।

नयाँ व्यवस्था अनुसार प्रदेश सरकारहरुले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफैँ लाइसेन्स छपाइ गर्न सक्ने छन्। सोहीअनुसार मधेश प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गरिरहेको छ। यस्तै, लुम्बिनी प्रदेश सरकारले पनि शुक्रबार सुरक्षण मुद्रणसँग सम्झौता गरी सवारी चालक अनुमतिपत्र छपाइको काम सुरु गरेको हो।

प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता नगरेको अवस्थामा भने सेवाग्राहीको चाप र समस्यालाई ध्यानमा राखी यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको समन्वयमा लाइसेन्स छपाइको व्यवस्था मिलाइएको छ।

नयाँ प्रणालीमार्फत लाइसेन्स छपाइ सुरु भएपछि प्रदेशअनुसार छपाइको जिम्मेवारी व्यवस्थापन गर्दै सेवाग्राहीलाई सहज, छिटो र समयमै सवारी चालक अनुमतिपत्र उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएको पूर्वाधार विकास मन्त्रालयले जनाएकाे छ ।