काठमाडौं-नेकपा एमालेका सचिव महेश बस्नेतले कार्यदलको बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने वा नहटाउने सहमति भएको दाबी गरेका छन्।
आइतबार एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सचिव बस्नेतले प्रतिवेदनमा अध्यक्ष ओलीलाई हटाउने कुरा कहीँ कतै नराख्ने सहमति भएको दाबी गरेका हुन्।
सचिव बस्नेतका अनुसार पार्टी फुटोस् भन्ने चाहना राख्ने केही प्रवृत्तिलाई समेत ध्यानमा राख्दै यसअघि विभिन्न सदस्यबाट आएका मस्यौदा प्रस्तावहरूलाई समेटेर एकीकृत प्रतिवेदन तयार पार्ने जिम्मेवारी तीन नेतालाई दिइएको थियो। सोही आधारमा तयार भएको प्रतिवेदनमाथि छलफल गरिएको उनले बताए।
‘एमाले फुटोस् भनेर कतिपय सदस्यले चाहेको परिस्थिति पनि छ। यी तमाम परिस्थितिलाई ध्यान दिएर कार्यदलको बलथलीको बैठक पछाडि तीन जना नेताहरूलाई हामीले आएका सबै मस्यौदा प्रस्तावहरू समेटेर एकीकृत प्रतिवेदन ल्याउन जिम्मेवारी दिएका थियौँ। त्यही आधारमा आज एउटा एकीकृत प्रतिवेदन आयो’, सचिव बस्नेतले भने, ‘त्यसमा छलफल गर्न मुख्य आधार बनायौँ । त्यसका सन्दर्भमा अझ अरू केही कुराहरू व्याख्या गर्ने।’
सचिव बस्नेतले अध्यक्षको राजीनामा माग्ने, अध्यक्षलाई हटाउने वा अध्यक्षको आलोचना गर्ने विषय प्रतिवेदनमा कतै पनि नराख्ने सहमति भएको जानकारी दिए। साथै पार्टीको सुदृढ एकता प्रदर्शन गर्ने, संगठनलाई थप जुझारु बनाउने र वर्तमान सरकारको कार्यशैलीविरुद्ध सशक्त आन्दोलनको तयारी गर्ने उद्देश्यसहित राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने सहमति पनि भएको उनले बताए।
‘पार्टीको सुदृढ एकता प्रदर्शन हुने गरी पार्टीलाई जुझारु ढङ्गले अगाडि बढाउने गरी वर्तमान सरकारको अधिनायकवादी प्रतिशोधी निरङ्कुश र जनविरोधी शैलीको सशक्त आन्दोलन गर्ने ढङ्गले राष्ट्रिय परिषद्को बैठक बोलाउने सहमति भएको छ’, सचिव बस्नेतको भनाइ छ।



प्रतिक्रिया