अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेतृत्व पुनर्गठनको विषय प्रतिवेदनमा छैन: सचिव अर्याल

नेतृत्व पुनर्गठनको विषय प्रतिवेदनमा छैन: सचिव अर्याल


काठमाडौं-नेकपा (एमाले) की सचिव पद्मा अर्यालले पार्टी पुनर्गठन तथा निर्वाचन समीक्षासम्बन्धी कार्यदलले एकमतको साझा प्रतिवेदन तयार गरी केन्द्रीय सचिवालयमा पेस गर्ने निर्णय गरेको बताएकी छन्।

आइतबार कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सचिव अर्यालले पार्टीभित्र फरक–फरक प्रतिवेदन तयार भएको भन्ने चर्चालाई अस्वीकार गर्दै सचिवालयमा एकीकृत प्रतिवेदन मात्रै जाने स्पष्ट पारिन्।

सचिव अर्यालका अनुसार बैठकमा एमालेलाई थप एकताबद्ध र सुदृढ बनाउने विषयमा गम्भीर छलफल भएको थियो। प्रतिवेदनमा समेटिनुपर्ने विभिन्न विषय र सुझावमाथि विस्तृत रूपमा छलफल गरी कार्यदलले सर्वसम्मत रूपमा साझा प्रतिवेदन तयार गरेको उनले बताइन्।

सञ्चारमाध्यममा चर्चा भएजस्तो तीनवटा प्रतिवेदन नभएको स्पष्ट पार्दै अर्यालले ती केवल विषयगत मस्यौदा मात्र रहेको बताइन्। ‘तीनवटा प्रतिवेदन होइनन्, विभिन्न कोणबाट आएका सुझावसहितका मस्यौदा थिए। कार्यदलले ती सबैलाई एकीकृत गरी अन्तिम रूप दिएपछि मात्र प्रतिवेदन बन्छ,’ सचिव अर्यालले भनिन्।

उनले कार्यदलका संयोजकले प्रस्तुत गरेको मस्यौदामाथि आवश्यक थपघट र परिमार्जन गरी बैठकबाट पारित गरिएको जानकारी दिइन्।

पार्टी पुनर्गठनको सन्दर्भमा नेतृत्व परिवर्तनको विषय प्रतिवेदनमा समावेश हुन्छ कि हुँदैन भन्ने प्रश्नमा अर्यालले नेतृत्व पुनर्गठनसँग सम्बन्धित कुनै पनि विषय दस्ताबेजमा नराखिएको स्पष्ट पारिन्। उनका अनुसार कार्यदलले नेतृत्व परिवर्तन वा पुनर्गठनसँग जोडिएका विषय प्रतिवेदनमा समेट्ने निर्णय गरेको छैन।