काठमाडौं-नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन अन्तिम रूप दिन शीर्ष नेताहरूबीच छलफलमा जुटेका छन्। आइतबार कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल प्रतिवेदनलाई टुंगोमा पुर्याउने विषयमा छलफलमा जुटेका हुन्।
कार्यदलले तयार पारेको प्रतिवेदनलाई अन्तिम रूप दिएर पार्टी नेतृत्वसमक्ष पेस गर्ने तयारीस्वरूप तीन नेताबीच परामर्श भइरहेको स्रोतले जनाएको छ।
यसअघि बसेको कार्यदलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने विषय प्रतिवेदनमा समावेश नगर्ने समझदारी बनेको थियो। बैठकमा पार्टी एकता, संगठन सुदृढीकरण तथा आगामी रणनीतिका विषयमा केन्द्रित भएर प्रतिवेदनलाई निष्कर्षमा पुर्याउने सहमति भएको बताइएको छ।
कार्यदलले निर्वाचन परिणामको समीक्षा, पार्टी संगठनको पुनर्गठन तथा आगामी कार्यदिशासम्बन्धी सुझाव समेटेर प्रतिवेदन तयार गरिरहेको छ। सोही प्रतिवेदनलाई अन्तिम रूप दिन तीन शीर्ष नेता छलफलमा केन्द्रित भएका हुन्।



प्रतिक्रिया