अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वामपन्थी आन्दोलन कमजोर भयो, एकता आवश्यक छ: झलनाथ खनाल

वामपन्थी आन्दोलन कमजोर भयो, एकता आवश्यक छ: झलनाथ खनाल


काठमाडौं-नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी शक्तिबीच एकता अनिवार्य भएको बताएका छन्।

आइतबार राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित ‘सहकारी ठगीको जालो’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता खनालले देश अस्थिरता र अनिश्चितताको अवस्थामा पुगेकाले वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका हुन्।

नेता खनालले पछिल्लो समय वामपन्थी आन्दोलन कमजोर हुँदै गएको भन्दै न्यूनतम रूपमा पनि एकताबद्ध भएर अघि बढ्ने राजनीतिक संस्कृति कमजोर भएको बताए।

‘अहिले वामपन्थी आन्दोलन धेरै कमजोर भयो। अहिले त न्यूनतम रूपमा एकताबद्ध भएर जाऔँ भन्ने संस्कृति पनि देखिएको छैन। त्यस हुनाले सबै वामपन्थीहरूको बीचमा एकता अनिवार्य छ,’ नेता खनालले भने।

वामपन्थी शक्ति कमजोर हुँदा मुलुक अस्थिरता र अनिश्चितताको अवस्थामा पुगेको उनको दाबी थियो। राष्ट्रिय मुद्दाहरू समाधान गर्न पनि वामपन्थी शक्तिहरूबीच एकता आवश्यक रहेको उनले बताए।

नेता खनालले कम्युनिस्ट आन्दोलनले आफूलाई सुरुदेखि नै देशभक्तिपूर्ण आन्दोलनका रूपमा प्रस्तुत गर्दै आए पनि पछिल्लो समय भएका विभिन्न गलत कार्य र सम्झौताका कारण राष्ट्रियता गम्भीर मोडमा पुगेको बताए।

उनले वामपन्थी एकता नीति, सिद्धान्त, आदर्श तथा वैचारिक–राजनीतिक दिशाका आधारमा हुनुपर्नेमा जोड दिए। नेताहरूबीच मात्र सहमति वा एकता गरेर वामपन्थी एकता दिगो नहुने उनको भनाइ थियो।

‘एकता भनेको नीतिको आधारमा, सिद्धान्तको आधारमा, आदर्शको आधारमा एउटा सही वैचारिक–राजनीतिक दिशाको आधारमा मात्र एकता बनायौँ भने त्यो दिगो हुन्छ,’ खनालले भने, “वामपन्थी एकता भनेको टाउको जोडेर हुँदैन।’

यसैगरी खनालले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न विद्यमान नीति तथा कानुनमा आवश्यक संशोधन गर्नुपर्ने बताए। सहकारी क्षेत्रलाई व्यवस्थित र बलियो बनाउन नयाँ नीतिगत तथा कानुनी आधार निर्माण गर्नुपर्नेमा उनले जोड दिए।