काठमाडौं-नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभर जारी वडा अधिवेशनको दोस्रो दिनसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन प्रक्रिया सम्पन्न भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशनअन्तर्गत अधिकांश जिल्लामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गरिएको हो।
ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ (क्षेत्र नं. ६ वाहेक), सुनसरी, सप्तरी (क्षेत्र नं. २ र ४ बाहेक), धनुषा, महोत्तरी, सर्लाही (क्षेत्र नं. २ बाहेक), रौतहट (क्षेत्र नं. १ बाहेक), बारा, पर्सा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, लमजुङ, तनहुँ, कास्कीमा अधिवेशन भएको हो ।
यस्तै मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, वागलुङ, नवलपुर, परासी (क्षेत्र नं. २ बाहेक), रूपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रूकुम (पूर्व), रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलाली जिल्लामा पनि अधिवेशन भएको छ।
बाढीप्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्ला बाहेक सप्तरी क्षेत्र नं. २ र ४, सिराहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नम्बर २, परासी क्षेत्र नम्बर २ मा अधिवेशन हुन बाँकी छ।
शनिबार र आइतबार अधिवेशन हुन नसकेका ठाउँमा सोमबार अधिवेशन हुनेछ। अधिकांश वडाहरूमा सर्वसम्मत रूपमा कार्यसमिति गठन गरिएको र क्षेत्रीय प्रतिनिधिहरू पनि सर्वसम्मत गरिएको छ।
बाँकी रहेका स्थानमा असोज ५ गते पनि अधिवेशन प्रक्रिया जारी रहने निर्वाचन समितिले जनाएको छ। समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा बाँकी वडामा निर्धारित कार्यतालिकाअनुसार अधिवेशन सम्पन्न गर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।
कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका रहेको छ।



प्रतिक्रिया