काठमाडौं-भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति र बाढीका कारणबारे सत्यतथ्य छानबिन गर्न संसदीय विशेष समिति गठन गर्ने तयारी सुरु भएको छ।
विशेष समिति गठनको विषयमा छलफल गर्न सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारका अनुसार बैठक सोमबार सवा १२ बजे सिंहदरबारस्थित प्रतिनिधिसभा कक्षसँगै रहेको कार्यव्यवस्था हलमा बस्नेछ।
भोटेकोशीमा आएको विनाशकारी बाढीको कारण, त्यसबाट भएको क्षति तथा राहत र पुनर्स्थापनाका विषयमा रणनीति बनाउन विशेष समिति गठन गर्ने सहमति यसअघि राजनीतिक दलहरूबीच भएको थियो।
सोमबारको बैठकमा विशेष समिति गठनको प्रक्रिया तथा समितिको कार्यादेशबारे छलफल हुने बताइएको छ।
त्यस्तै, बाढीको पूर्वसूचना प्रणाली, विपद् व्यवस्थापनमा सरकारी निकायहरूको भूमिका तथा आगामी दिनमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक कदमबारे समेत संसद्मा छलफल हुने तयारी छ। विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक कानुनी व्यवस्था निर्माण गर्ने विषयलाई पनि प्राथमिकतामा राखिने बताइएको छ।



प्रतिक्रिया