अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बंगालको खाडीमा बनेको न्यून चापीय प्रणाली नेपालतर्फ सर्दै

बंगालको खाडीमा बनेको न्यून चापीय प्रणाली नेपालतर्फ सर्दै


काठमाडौं-अण्डमान सागर आसपास विकसित भई हाल बंगालको खाडीमा केन्द्रित रहेको नयाँ मौसमी प्रणालीका कारण नेपालमा वर्षाको सम्भावना बढेको छ। यद्यपि, उक्त प्रणालीले पार्न सक्ने प्रभाव र जोखिमको स्तरबारे अहिले नै यकिन गर्न नसकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार उक्त मौसमी प्रणाली उत्तर-पश्चिम दिशातर्फ सर्ने क्रममा रहेकाले यसको सूक्ष्म निगरानी भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनले अण्डमान सागर आसपास विकसित भएको न्यून चापीय प्रणाली हाल बंगालको खाडीको पूर्व–मध्य भूभागमा अवस्थित रहेको जानकारी दिइन्।

उनका अनुसार उक्त प्रणाली आगामी दिनमा थप संगठित र बलियो बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने सम्भावना छ। यसका कारण नेपालमा वर्षाको सम्भावना बढे पनि वर्षाको मात्रा, वास्तविक प्रभाव तथा सम्भावित क्षतिको अवस्था अहिले नै निर्धारण गर्न नसकिने महाशाखाले जनाएको छ।

यसैबीच, मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा केही दक्षिणतर्फ रहेको छ। नयाँ मौसमी प्रणालीको प्रभावका कारण आगामी २४ घण्टामा देशका विभिन्न भूभागमा वर्षा हुने पूर्वानुमान गरिएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। ती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा खण्डित रूपमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेका स्थानमा महाशाखाले ‘पहेंलो चेतावनी’ जारी गर्दै आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन आग्रह गरेको छ।

पछिल्लो २४ घण्टामा तनहुँको खानीखोला स्टेसनमा सबैभन्दा बढी ४१.८ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै, मकवानपुरको सिलिङ्गेमा ३८.८ मिलिमिटर वर्षा रेकर्ड भएको महाशाखाले जनाएको छ।