काठमाडौं-नेकपा एमालेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित १५ सदस्यीय कार्यदलले तयार पारेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्जागरणसम्बन्धी प्रतिवेदन पारित गरेको छ।
केन्द्रीय कमिटी बैठकअघि सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सचिवालय सदस्यहरूले दिएका सुझावसमेत समेटेर प्रतिवेदन पारित गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
‘प्रतिवेदन सुझावसहित पारित भएको छ,’ उपमहासचिव भट्टले भने, ‘प्रतिवेदनमा अध्यक्षले राजीनामा दिनुपर्ने र विशेष महाधिवेशन गर्ने विषय समावेश छैन।’
यसअघि निर्वाचन समीक्षाका क्रममा तीन वटा छुट्टाछुट्टै प्रतिवेदन तयार भएका थिए। ती सबै प्रतिवेदनलाई समेटेर कार्यदलले एकीकृत प्रतिवेदन तयार गरेको बताइएको छ।
कार्यदलले २९ पृष्ठको प्रतिवेदन तयार पारेको थियो। सचिवालय बैठकबाट पारित प्रतिवेदन अब केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरी छलफल गरिनेछ।
सचिवालय बैठक सकिएलगत्तै एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ।



प्रतिक्रिया