काठमाडौं-काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको बस बिसौनीमा एक सार्वजनिक बसमा आगलागी हुँदा चालक गम्भीर घाइते भएका छन्।
बा ५ ख ४२७४ नम्बरको ऋद्धिसिद्धी यातायातको बसमा आगलागी भएको हो। आगलागी हुँदा बसभित्र रहेका २५ वर्षीय चालक दावा लामा घाइते भएको प्रहरीले जनाएको छ। उनको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार आगलागीपछि तत्काल दमकल र सुरक्षाकर्मी घटनास्थल पुगेका थिए। आगो नियन्त्रणमा लिए पनि बसमा ठूलो क्षति पुगेको छ।
‘बसमा आगलागी हुँदा चालक घाइते भएका छन्। उद्धार गरेर अस्पताल पठाएका छौं। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ,’ एसपी सुवेदीले बताए।
प्रहरीका अनुसार आगलागी भएका बेला बसमा अन्य यात्रु भने थिएनन्। चालक बसभित्रै रहेका अवस्थामा आगलागी भएकाले घटना शंकास्पद देखिएको र विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काभ्रे घर भएका चालक लामाको अवस्था गम्भीर रहेको बताइएको छ। प्रारम्भिक रूपमा आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको जानकारी दिए। प्रहरीले आगलागी कसरी भयो भन्ने विषयमा थप विवरण संकलन गरिरहेको छ।




प्रतिक्रिया