काठमाडौं-नेकपा (एमाले)को केन्द्रीय बैठक ललितपुरस्थित रामबाग पार्टी प्यालेसमा सुरु भएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
बैठकको उद्घाटन गर्दै अध्यक्ष ओलीले केन्द्रीय सदस्यलाई बोल्न तीन मिनेटको समय निर्धारण गरिएको जानकारी दिए। बोल्न चाहने सबै सदस्यलाई अवसर दिइने भन्दै अध्यक्ष ओलीले तोकिएको समयमा आफ्ना धारणा राख्न नसके लिखित रूपमा सुझाव तथा टिप्पणी पेश गर्न सकिने बताए।
अध्यक्ष ओलीले आफूले प्रस्तुत गर्ने प्रतिवेदन लामो भएकाले अध्ययनका लागि बैठक चाँडै टुंग्याइने र त्यसमाथि विस्तृत छलफल हुने जानकारी दिए। उनले प्रतिवेदन अध्ययनपछि बोल्ने नेताहरूलाई विषयकेन्द्रित भएर धारणा राख्न पनि निर्देशन दिए।
बैठकलाई व्यवस्थित र गोपनीय बनाउन सोमबारदेखि बैठकस्थलमा मोबाइल फोन नल्याउन अध्यक्ष ओलीले निर्देशन दिएका छन्। उनका अनुसार बैठकस्थलमा मोबाइलबाट भिडियो खिच्न, रेकर्ड गर्न वा लाइभ प्रसारण गर्न अनुमति दिइने छैन।
यसअघि बसेको एमाले केन्द्रीय सचिवालय बैठकले केन्द्रीय समिति बैठकका लागि विभिन्न एजेन्डा तय गरेको थियो। बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनुका साथै पार्टीको समसामयिक अवस्था, संगठन सुदृढीकरण तथा आगामी कार्यदिशाबारे पनि विचार-विमर्श हुने बताइएको छ।



प्रतिक्रिया