काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाह्य चुनौती र हमलाको सामना गर्न पार्टी एकजुट र एकढिक्का भएर अघि बढ्नुपर्ने बताएका छन्।
सोमबार ललितपुरस्थित रामबाग पार्टी प्यालेसमा आयोजित एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान परिस्थितिमा पार्टीभित्रबाटै विरोधी शक्तिलाई खेल्ने अवसर दिन नहुने बताएका हुन्।
अध्यक्ष ओलीले एमालेमाथि बाहिरबाट विभिन्न प्रकारका हमला भइरहेको दाबी गर्दै त्यसको प्रतिकारका लागि सबै नेता–कार्यकर्ता एकताबद्ध हुनुपर्नेमा जोड दिए।
‘यतिबेला हामी एकजुट भएर, एकढिक्का भएर यस प्रतिकूलताको सामना गर्न र हामीमाथिको फाँसीवादी हमलाको प्रतिकार गर्न अघि बढ्नुपर्छ,’ अध्यक्ष ओलीले भने, ‘विरोधीलाई खेल्ने ठाउँ दिनका लागि पार्टीभित्रबाट कोही पनि त्यसको पछि लाग्नु हुँदैन, पार्टीभित्रै समस्या सिर्जना गर्न उद्धत हुनु हुँदैन।’
अध्यक्ष ओलीले पार्टीभित्रका मतभेद र बहसहरू सार्वजनिक रूपमा नभई पार्टीभित्रै छलफल गरेर समाधान गर्नुपर्ने बताए। पार्टीको प्रतिष्ठा कमजोर पार्ने, विपक्षीको मनोबल बढाउने र विरोधीलाई खुसी बनाउने गतिविधिबाट सचेत रहन उनले नेता–कार्यकर्तालाई आग्रह गरे।
‘पार्टीको प्रतिष्ठा कमजोर पार्ने, विपक्षीको मनोबल उठाउने र विपक्षीलाई खुसी बनाउने प्रकारका क्रियाकलाप हुन हुँदैन,’अध्यक्ष ओलीले भने।
अध्यक्ष ओलीले पार्टीभित्र अनुशासन कायम गर्नुपर्ने आवश्यकता औंल्याउँदै अराजक प्रवृत्तिलाई नियन्त्रण गरेर संगठनलाई थप सुदृढ बनाउनुपर्ने बताए। ‘यस्तो अराजकतालाई नियन्त्रण गरेर पार्टीलाई अनुशासित बनाएर अघि बढाउनुपर्ने परिस्थिति सिर्जना भएको छ,’ अध्यक्ष ओलीले भने।



प्रतिक्रिया