काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वविरुद्ध सञ्चारमाध्यम र सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै हिँड्ने, नेताहरूमाथि न्यायाधीश को भन्ने प्रश्न गरेका छन्।
सोमबार ललितपुरस्थित रामबाघ पार्टी प्यालेसमा आयोजित एमाले केन्द्रीय कमिटी बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले खुलेआम अध्यक्ष फेर्नुपर्ने भन्दै हिँड्नेहरू कुन हैसियतका न्यायाधीश हुन् भनी प्रश्न गरेका हुन्।
‘पार्टीभित्रको बहस पार्टीभित्र र कमिटीभित्र हुन सक्छ। तर मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो भन्ने को न्यायाधीश हो ?’ अध्यक्ष ओलीले प्रश्न गर्दै भने, ‘तपाईं पार्टीमा हुनुहुन्छ भने पार्टीभित्र छलफल गर्नुस्, कमिटीमा राय राख्नुस्। बाहिर गएर जग हँसाइ गर्ने, पार्टीको प्रतिष्ठा कमजोर पार्ने र विपक्षीलाई खुसी बनाउने छुट कसैलाई छैन।’
पार्टीका एक नेताले हालै सामाजिक सञ्जालमा लेखेको विवादास्पद स्टाटसतर्फ संकेत गर्दै अध्यक्ष ओलीले नेतृत्वविरुद्ध अशोभनीय टिप्पणी नगर्न चेतावनी दिए। ‘मन पनि नभएको, मुटु पनि नभएको, मस्तिष्क पनि नभएको, मिर्गौला पनि नभएको, हड्डीलाई छालाले बेरेको मात्रैलाई के भन्छ भन्दै स्टाटस लेख्ने, अनि तल ‘सोझै ठोक्नुपर्छ’ भनेर कमेन्ट गराउनेजस्ता काम भइरहेका छन्,’ अध्यक्ष ओलीले भने, ‘यो तरिका पार्टीका लागि स्वस्थ हुन सक्दैन।’
अध्यक्ष ओलीले एमाले लोकतन्त्र, संविधान र राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिएकै कारण चौतर्फी आक्रमणको निशानामा परेको बताए।
महाधिवेशनले लोकतान्त्रिक विधिबाट नीति, विधान र नेतृत्व चयन गरिसकेको स्मरण गराउँदै अध्यक्ष ओलीले कसैलाई पनि पार्टीभित्र अराजकता मच्चाउने अधिकार नभएको बताए ।
बाहिरी राजनीतिक परिस्थितिबारे चर्चा गर्दै अध्यक्ष ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको पहरेदार भएकै कारण एमालेमाथि चौतर्फी हमला भइरहेको दाबी गरे ।



प्रतिक्रिया