अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुई दिन सार्वजनिक बिदाको असरबारे सरकार गम्भीर बनोस्: सांसद बराल

दुई दिन सार्वजनिक बिदाको असरबारे सरकार गम्भीर बनोस्: सांसद बराल


काठमाडौं-नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले दुई दिनको सार्वजनिक बिदाले स्वास्थ्य, शिक्षा तथा सरकारी कार्यालयहरूको सेवा प्रवाहमा परेको प्रभावबारे सरकारलाई प्रश्न गरेकी छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद बरालले बिदा व्यवस्थापनका कारण विशेषगरी महिला कर्मचारीहरूले भोग्नुपरेको असहजताप्रति सरकारको ध्यानाकर्षण गराएकी हुन्।

सांसद बरालले सरकारले घोषणा गरेको दुई दिनको बिदाले आम जनजीवन तथा कार्यक्षेत्रमा खटिने महिला कर्मचारीहरूलाई थप समस्या सिर्जना गरेको बताइन्। ‘सरकारले हचुवाका भरमा दिने बिदाले कति सास्ती भएको छ, के सरकारलाई थाहा छ ? सरकारले यस विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ,’ सांसद बरालले भनिन्।

सांसद बरालले घरपरिवार र कार्यालय दुवै जिम्मेवारी सम्हाल्नुपर्ने महिला कर्मचारीहरू बढी प्रभावित भएको उल्लेख गरिन्। बिहान छोराछोरीको व्यवस्थापन गरेर समयमै कार्यालय पुग्न महिलाहरूले भोग्नुपर्ने कठिनाइबारे सरकार सचेत हुनुपर्ने उनको भनाइ थियो।

‘यस्तो बिदाको निर्णय गर्दा महिला कर्मचारीको दैनिक जीवन र कार्यदक्षतामा पर्ने असरबारे सरकारले कहिल्यै सोचेको छ ?’ उनले प्रश्न गरिन्।

सांसद बरालले दुई दिनको बिदाका कारण सेवा प्रवाहमा ढिलासुस्ती हुने र सर्वसाधारणले समेत सास्ती बेहोर्नुपर्ने अवस्था सिर्जना भएको दाबी गर्दै बिदा सम्बन्धी नीतिमाथि पुनर्विचार गर्न सरकारसँग आग्रह गरिन्।

‘सरकारले यस्ता निर्णय लिँदा कर्मचारी र आम महिलाको समस्यालाई पनि मध्यनजर गरी सोचोस् र विचार गरोस्,’ उनले भनिन्।