काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पुनर्निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको संरक्षणलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताएका छन्।
सोमबारदेखि सुरु भएको एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान बैठक केवल निर्वाचन परिणामको समीक्षा गर्ने थलो नभई पार्टीको अवस्था, कमजोरी र भावी दिशाबारे गम्भीर आत्मसमीक्षा गर्ने अवसर भएको बताए।
अध्यक्ष ओलीले निर्वाचनबाट प्राप्त नतिजाबाट शिक्षा लिँदै पार्टीभित्रका कमजोरी पहिचान गर्न, जनतासँगको सम्बन्ध अझ बलियो बनाउन तथा संगठनलाई सुदृढ गर्न आवश्यक रहेको उल्लेख गरे। बैठकले पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट दिशासहित अघि बढाउने विश्वास पनि उनले व्यक्त गरे।
अध्यक्ष ओलीले देश असाधारण राजनीतिक मोडबाट गुज्रिरहेको उल्लेख गर्दै सरकार र राज्यका संरचना कायम रहे पनि संवैधानिक वैधता तथा संस्थामाथिको जनविश्वास कमजोर हुन सक्ने बताए। उनका अनुसार राज्य भनेको केवल संरचनाको उपस्थिति मात्र नभई ती संरचनाप्रति नागरिकको विश्वास पनि हो।
देशमा फैलिएको निराशा चिर्न, जनतामा भरोसा जगाउन, अर्थतन्त्रलाई लयमा फर्काउन र राजनीतिक स्थिरताको सन्देश दिन संयुक्त सरकार निर्माण गरिएको उल्लेख गर्दै ओलीले त्यसबाट अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेको र जनतामा आशा जाग्दै गएको दाबी गरे।
राजनीतिक स्थिरता नरुचाउने शक्तिहरू अझै सक्रिय रहेको आरोप लगाउँदै उनले सरकार र नेतृत्वविरुद्ध अफवाह, गलत सूचना, घृणा र अविश्वास फैलाउने प्रयास भइरहेको बताए।
‘अन्ततः भदौ २३ र २४ का घटनाले असाधारण राजनीतिक मोड लियो,’ ओलीले भने।
उनले बाहिरबाट हेर्दा देशमा सरकार, प्रशासन, अदालत तथा राज्यका संरचना सञ्चालनमै देखिए पनि ती संस्थामाथिको जनविश्वास कायम राख्नु अहिलेको मुख्य चुनौती भएको बताए।



प्रतिक्रिया