काठमाडौं–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा ८७ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।
ललितपुरको भनिमण्डलमा सोमबार सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले ‘पार्टीको पुनर्निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको नयाँ संकल्प’ शीर्षकको प्रतिवेदन वितरण गरेका हुन्। प्रतिवेदनमा निर्वाचन परिणामको नैतिक जिम्मेवारी आफूले स्वीकार गर्ने उल्लेख गर्दै उनले सङ्कटका बेला नेतृत्वले पार्टी छाड्न नमिल्ने बताएका छन्।
प्रतिवेदनमा गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले भोगेको पराजय, जेन–जी आन्दोलन, सरकारबाट बाहिरिनुपरेको अवस्था तथा पार्टी पुनर्गठनका विषय समेटेका छन्। साथै, जेन–जी आन्दोलनका क्रममा हिंसा, तोडफोड र त्यसपछि सरकार परिवर्तन भएको घटनाक्रमलाई पनि प्रतिवेदनमा समेटिएको छ।
प्रतिवेदनको विषयसूचीमा ‘पार्टीको हारका कारण’, ‘के हो पुनर्गठन ?’, ‘रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरणको सही अर्थ’ तथा ‘पार्टीका तत्कालका दुई प्रमुख कार्यभार’ लगायतका विषय समावेश छन्।
एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम रहेको छ।



प्रतिक्रिया