अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन पराजयको नैतिक जिम्मेवारी लिन्छु, तर सङ्कटमा पार्टी छोडेर भाग्दिनँ: अध्यक्ष ओली

निर्वाचन पराजयको नैतिक जिम्मेवारी लिन्छु, तर सङ्कटमा पार्टी छोडेर भाग्दिनँ: अध्यक्ष ओली


काठमाडौंनेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत फागुनमा सम्पन्न निर्वाचनमा पार्टीले भोगेको पराजयको नैतिक जिम्मेवारी आफूले लिने तर सङ्कटका बेला नेतृत्वबाट पछि नहट्ने बताएका छन्।

ललितपुरमा सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा ‘पार्टीको पुनर्निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको नयाँ सङ्कल्प’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले बिरामी देखेर चिकित्सकले अस्पताल नछोड्ने र बालीमा रोग देखेर किसानले खेत नत्याग्ने उदाहरण दिँदै नेतृत्वले पनि कठिन परिस्थितिमा पार्टीलाई अलपत्र पार्न नमिल्ने बताए।

अध्यक्ष ओलीले निर्वाचन पराजयलाई बहाना बनाएर एक–अर्कामाथि दोषारोपण गर्ने वा निराशामा डुब्ने दुवै प्रवृत्ति गलत भएको उल्लेख गर्दै कठोर आत्मसमीक्षा, तथ्यमा आधारित प्रतिवाद र साङ्गठनिक पुनर्निर्माणमार्फत अघि बढ्नुपर्नेमा जोड दिए।

प्रतिवेदनमार्फत अध्यक्ष ओलीले पार्टीभित्र उठाइएका नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र पुनर्गठनसम्बन्धी मागप्रति पनि प्रतिक्रिया दिएका छन्। पार्टी पुनर्गठन रहरको विषय नभई इतिहासमा विशेष परिस्थितिमा मात्र गरिने प्रक्रिया भएको उल्लेख गर्दै उनले नेतृत्व विस्थापनको उद्देश्यले ‘बेमौसमी बाजा’ बजाइएको दाबी गरे।

ऊर्जा र अनुभवको संयोजनबाट मात्र पार्टी सुदृढ बन्न सक्ने बताउँदै अध्यक्ष ओलीले उमेर कम हुँदैमा स्वतः योग्य र बढी हुँदैमा अयोग्य नहुने तर्क गरे। पुरानो रूखको जरा नकाटी त्यसलाई पोषण दिएर नयाँ पालुवा हुर्काइने दृष्टान्त प्रस्तुत गर्दै अध्यक्ष ओलीले रूपान्तरण र पुस्तान्तरणलाई सही अर्थमा बुझ्न आग्रह गरे।

अध्यक्ष ओलीले पार्टीभित्र स्वस्थ आलोचनाको स्वागत हुने तर विरोधी शक्तिहरूले चलाएको चरित्रहत्याको अभियानमा आफ्नै कार्यकर्ता र नेताहरू सहभागी हुन नहुने चेतावनी दिए।

देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे चर्चा गर्दै अध्यक्ष ओलीले गत भदौ २३ र २४ गतेका आन्दोलनलाई बाह्य प्रभाव र रणनीतिको परिणामका रूपमा चित्रण गरे। जेनजी आन्दोलनका नाममा संसद्मा आगजनी, जनप्रतिनिधिको घरमा आक्रमण तथा निर्वाचित सरकारलाई असंवैधानिक रूपमा हटाउने प्रयास भएको उनको आरोप छ। युवाहरूको बेरोजगारी र निराशालाई केही आपराधिक समूह तथा भूराजनीतिक स्वार्थले हिंसात्मक दिशातर्फ मोडेको दाबी पनि उनले गरे।

सरकारले प्रतिशोधपूर्ण राजनीति गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले आफूमाथि जाली पक्राउ पुर्जी जारी गरी गैरकानुनी रूपमा हिरासतमा राखिएको गुनासो गरे। यद्यपि, भदौका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र आफू कानुनभन्दा माथि नरहेको तर छानबिनलाई राजनीतिक सफायको माध्यम बनाउन नहुने उनको भनाइ थियो।

अध्यक्ष ओलीले वर्तमान परिस्थितिमा एमालेका सामु संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा तथा आगामी स्थानीय तहसहितका निर्वाचनको तयारी दुई प्रमुख कार्यभारका रूपमा रहेको बताए। संसद् विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले न्यायिक प्रक्रियामा भइरहेको ढिलाइप्रति पनि उनले चिन्ता व्यक्त गरे।

प्रतिवेदनमा अध्यक्ष ओलीले सत्य तथ्य जनतामाझ पुर्‍याउने, जनहितमुखी प्रतिपक्षको भूमिका निर्वाह गर्ने, डिजिटल पुनर्निर्माण गर्ने तथा ज्ञानमा आधारित पार्टी निर्माण गर्नेसहित १५ वटा प्रमुख कार्ययोजना प्रस्तुत गरेका छन्।

एमाले निर्वाचनमा पराजित भए पनि समाप्त नभएको उल्लेख गर्दै ओलीले पार्टीको जरा अझै बलियो रहेको दाबी गरे। पराजयलाई शिक्षामा, शिक्षालाई रूपान्तरणमा र रूपान्तरणलाई पुनर्जागरणमा बदल्दै एमालेलाई पुनः राष्ट्रिय विजयको आधार बनाउने संकल्प उनले व्यक्त गरेका छन्।