काठमाडौं-त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी भएको घटनाबारे छानबिन गर्न नेपाल प्रहरीले समिति गठन गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी रमेश बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो।
उपत्यका प्रहरी कार्यालयका एआईजी सुशील सिंह राठौरका अनुसार समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच दिनको समय दिइएको छ। समितिले बसमा आगलागी हुनुअघि चालक र ट्राफिक प्रहरीबीच भएको संवाद, घटनास्थल आसपासका सीसीटीभी फुटेज तथा सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरूको अध्ययन गरी प्रतिवेदन बुझाउनेछ।
बा ५ ख ४२७४ नम्बरको ऋद्धिसिद्धी यातायातको बसमा आइतबार आगलागी भएको थियो। आगलागीमा परी बस चालक काभ्रेका २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका छन्। उनलाई प्रहरीले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि पठाएको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको अवस्था चिन्ताजनक छ।
प्रहरीका अनुसार आगलागी हुनुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको थियो। त्यसपछि चालकले नै बसमा आगो लगाएको हुनसक्ने आशंका गरिए पनि घटनाको वास्तविक कारण छानबिनपछि मात्रै खुल्ने बताइएको छ।
उपत्यका प्रहरी कार्यालय स्रोतका अनुसार समितिले ट्राफिक प्रहरीको सम्भावित संलग्नता वा जिम्मेवारीबारे पनि अनुसन्धान गर्नेछ। यसैबीच, जिल्ला प्रशासन कार्यालय काठमाडौंले समेत घटनाबारे छुट्टै छानबिन समिति गठन गर्ने तयारी गरेको छ।
घटनाबारे प्रतिक्रिया दिँदै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेले सबै कोणबाट घटनाको अनुसन्धान भइरहेको बताए। उनले छानबिन समितिको निष्कर्षका आधारमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए।
बसमा आगो लगाउनुअघि दावा र ट्राफिक प्रहरीबिच भएको थियो विवाद
काठमाडौंको त्रिपुरेश्वरमा सोमबार सार्वजनिक बसमा भएको आगलागी घटनाअघि चालक र ड्युटीमा खटिएका ट्राफिक प्रहरीबीच विवाद भएको खुलेको छ। विवादको केही समयपछि चालकले आफूले चलाइरहेको बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन्।
रिद्धीसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा ट्राफिक प्रहरीसँगको विवादपछि आक्रोशित बनेका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा उनले आफूलाई बिना गल्ती जरिवाना तिराउन खोजिएको र दुर्व्यवहार गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
भिडियोमा चालक लामाले, ‘मलाई बिना गल्ती किन हान्नुपर्यो ? मेरो गल्ती बिना किन यस्तो गर्नुभयो ? मैले यति धेरै सहयोग गर्दागर्दै चाबी झिकेर हान्नुभयो,’ भन्दै गुनासो गरेको सुनिन्छ। उनले आफूले सम्मानका साथ व्यवहार गर्दा पनि अन्याय भएको दाबी गरेका छन्।
भिडियोमा चालक र ट्राफिक प्रहरीबीच जरिवाना सम्बन्धी विवाद भएको देखिन्छ। चालकले ‘मर्न तयार छु, तर फाइन तिर्दिनँ’ भन्दै आफ्नो अडान राखेका छन्। उनले आफूले कुनै गल्ती नगरेको दाबी गर्दै जरिवाना नतिर्ने बताएका थिए। भिडियोमा ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र अन्य व्यक्तिहरूले सडकको बीचमा रोकिएको बस साइड लगाउन आग्रह गरिरहेको पनि देखिन्छ।
प्रत्यक्षदर्शीका अनुसार विवाद चर्किंदै जाँदा चालक थप उत्तेजित बनेका थिए। त्यसको केही समयपछि उनले यात्रुविहीन अवस्थामा रहेको बसभित्र आफूलाई थुनेर आगो लगाएका थिए। लगत्तै बसको पछिल्लो भागबाट आगो दन्किएको देखिएको थियो।
आगो लागेपछि दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। गम्भीर अवस्थामा रहेका चालक लामाको उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको थियो।
कीर्तिपुर बर्न अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख तथा सिनियर कन्सल्टेन्ट प्लास्टिक सर्जन डा. विशाल कार्कीका अनुसार लामाको शरीरको करिब ९० प्रतिशत भाग जलेको छ। उनको अवस्था अत्यन्तै गम्भीर र चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।



प्रतिक्रिया