काठमाडौं- असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाल मौसम विज्ञान विभागले सोमबार जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार उक्त अवधिमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। ती प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षासमेत हुनसक्ने विभागले जनाएको छ।
त्यस्तै, कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। असोज ९ देखि ११ गतेसम्म देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ।
विभागका अनुसार बंगालको खाडीको मध्य भाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै ‘डीप डिप्रेसन’मा परिणत हुने र पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना छ। यसको प्रभाव बुधबारदेखि नै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा देखिन सक्ने तथा मध्यम वर्षा हुनसक्ने विभागको अनुमान छ।
भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले अत्यावश्यकबाहेक टाढाको यात्रा नगर्न तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर र लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिइएको छ।
त्यस्तै, जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई पूर्वसूचनाका आधारमा सुरक्षित स्थानमा स्थानान्तरण गर्न जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकलाई प्राधिकरणले आग्रह गरेको छ।
अचानक बाढी आउन सक्ने खोला तथा खहरे आसपासका बस्ती, पहिरोको जोखिम भएका क्षेत्र तथा नदी र खोला किनारमा बसोबास गर्ने नागरिकलाई विशेष चनाखो रहन प्राधिकरणले अनुरोध गरेको छ।
वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा सहयोग आवश्यक परे १२३४, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बल नेपालको १११४ मा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले मौसम विज्ञान विभाग तथा प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनी नियमित रूपमा हेर्नसमेत सर्वसाधारणलाई आग्रह गरेको छ।




प्रतिक्रिया