काठमाडौँ-नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकको माइन्युट लेखनको जिम्मेवारी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई दिइएको छ।
एमाले नेता सूर्य थापाले सामाजिक सञ्जालमार्फत आजदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि माइन्युट लेखन तथा बहस नोट कमिटी गठन गरिएको जानकारी दिएका छन्।
माइन्युट लेखन कमिटीमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपाध्यक्ष गोकर्ण विष्ट र महासचिव शंकर पोखरेल रहेका छन्।
त्यस्तै, बहस नोट कमिटीमा उपमहासचिव योगेश भट्टराई, सचिव पद्मा अर्याल तथा केन्द्रीय सदस्यहरू सूर्य थापा, निरज आचार्य र खिमलाल भट्टराई रहेका छन्।
एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको बैठक आज बिहान ९ बजेदेखि ललितपुरको भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा सुरु हुँदैछ। आजदेखि केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम सुरु हुने पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।
आचार्यका अनुसार प्रत्येक केन्द्रीय सदस्यलाई बढीमा तीन मिनेटको समय उपलब्ध गराइएको छ। उक्त समयमा पार्टी, अध्यक्षको राजनीतिक प्रतिवेदन, जनतासँगको सम्बन्ध तथा समसामयिक विषयमा धारणा राख्ने गरी समय व्यवस्थापन गरिएको छ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि पनि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन्।
अध्यक्ष ओलीले बैठकमा प्रस्तुत गरेका नौवटा एजेण्डामध्ये आठवटाको कारबाही आजदेखि अघि बढाउने तयारी छ। त्यसक्रममा केन्द्रीय कमिटी सदस्यहरूको मनोनयन, विभाग गठन, पोलिटब्युरो गठन तथा स्थायी कमिटी गठनलगायतका एजेण्डामा प्रक्रिया अघि बढाइनेछ।
त्यसैगरी सल्लाहकार परिषद् गठन, ज्येष्ठ कम्युनिस्ट मञ्च तथा अनुशासनसम्बन्धी विषयमा पनि बैठकले निर्णय गर्ने तयारी गरेको छ।
एमाले स्रोतका अनुसार आज केन्द्रीय सदस्यहरूको मनोनयनसँगै बैठकमा धारणा राख्ने क्रम सुरु हुनेछ। पोलिटब्युरो, स्थायी कमिटी गठन तथा नेताहरूको जिम्मेवारी बाँडफाँट भने बुधबार गर्ने तयारी रहेको एक पदाधिकारीले जानकारी दिएका छन्।
यसअघि सोमबार बसेको बैठकमा अध्यक्ष ओलीले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।



प्रतिक्रिया