काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो कुनै असहमति नरहेको स्पष्ट गर्दै पार्टीभित्र विभाजन वा विग्रह निम्त्याउने कुनै गतिविधिको नेतृत्व नगर्ने बताएका छन्।
ललितपुरमा जारी एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकको दोस्रो दिन मन्तव्य राख्दै पोखरेलले अध्यक्ष ओलीप्रति आफ्नो विश्वास र प्रतिबद्धता दोहोर्याएका हुन्। उक्त मन्तव्यलाई एमाले नेता सूर्य थापाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
महासचिव पोखरेलले अध्यक्ष ओलीसँग सहकार्य गर्दै काम गरिरहँदा आफूबाट अध्यक्षमाथि अभियोग लगाउने काम नहुने बताएका छन्। साथै, पार्टीमा असमझदारी र विग्रह सिर्जना हुने गरी विशेष महाधिवेशन आयोजना गर्ने अभियानको नेतृत्व पनि आफूले नगर्ने स्पष्ट पारे।
उनले अध्यक्ष ओलीको असहमतिमा आफू पार्टी अध्यक्ष नबन्ने उल्लेख गर्दै नेतृत्वका विषयमा फैलाइएका अड्कलबाजीप्रति पनि संकेत गरेका छन्। ‘पार्टी अध्यक्षसँग मेरो असहमति छँदै छैन। तपाईंलाई त्यस्तो अनुभूति छ भने भोलिको दिनदेखि नै हुने छैन। यो विश्वास दिलाउन चाहन्छु,’ महासचिव पोखरेलको भनाइ उद्धृत गर्दै नेता थापाले उल्लेख गरेका छन्।
महासचिव पोखरेलले आफ्नो मन्तव्यमा तीन प्रमुख प्रतिबद्धता व्यक्त गरेका छन्। पहिलो, अध्यक्ष ओलीसँगै काम गरिरहँदा उनीमाथि अभियोग लगाउने काम आफूबाट नहुने। दोस्रो, पार्टीमा विग्रह निम्त्याउने गरी विशेष महाधिवेशनको अभियानको नेतृत्व नगर्ने। र तेस्रो, अध्यक्ष ओलीको असमतिमा आफू पार्टी अध्यक्ष नबन्ने।
पछिल्ला दिनमा एमालेभित्र नेतृत्व, संगठनात्मक पुनर्गठन र भावी कार्यदिशाका विषयमा विभिन्न चर्चा र अड्कलबाजी भइरहेका बेला पोखरेलको अभिव्यक्तिलाई पार्टीभित्र एकता, सहकार्य र नेतृत्वप्रतिको प्रतिबद्धताको सन्देशका रूपमा हेरिएको छ।



प्रतिक्रिया