अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवामा बढ्दो निराशाको कारण खोज्न सरकार गम्भीर बन्नुपर्छ: सांसद राई

युवामा बढ्दो निराशाको कारण खोज्न सरकार गम्भीर बन्नुपर्छ: सांसद राई


काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद आरेन राईले देशभर आत्मदाहका घटनामा वृद्धि हुनुमा युवा पुस्तामा बढ्दो निराशा प्रमुख कारण हुन सक्ने भन्दै सरकारले त्यसबारे गम्भीर अध्ययन र हस्तक्षेप गर्नुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद राईले हालै काठमाडौंको त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर आत्मदाहको प्रयास गरेका युवा चालकको घटनाले समाजमा बढ्दो निराशा र असन्तुष्टिको संकेत गरेको बताए। उनले उक्त घटनामा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस्ता घटनालाई सामान्य रूपमा लिन नहुने धारणा राखे।

राईले पछिल्ला महिनाहरूमा आत्मदाहका घटना देखिन थालेको उल्लेख गर्दै ती बाहिर देखिएका प्रतिनिधि घटना मात्र हुन सक्ने बताए। “हिजोअस्ति एकजना मोटरसाइकल राइडर भाइले आत्मदाह गरे, हिजो एकजना बस चालकले आत्मदाह गरे, यी त देखिएका पात्र मात्रै हुन्, नदेखिएका कति होलान्,” उनले भने।

उनले नयाँ भविष्य निर्माणको आशामा आन्दोलनमा सहभागी भएका युवाहरू नै अहिले निराश हुनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने प्रश्न सरकारसमक्ष उठाए। “जसले नयाँ भविष्य कोर्नका निम्ति यत्रो आन्दोलन गर्‍यो, आज त्यही युवा पुस्ता किन यति धेरै निराश छ ?” भन्दै उनले यसको वास्तविक कारण खोज्न सरकारलाई आग्रह गरे।

राईले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाको पुनर्निर्माणसमेत हुन नसकेको उल्लेख गर्दै युवामा बढ्दो निराशा गम्भीर विषय भएको बताए। उनका अनुसार सरकारले केवल पछिल्ला घटनामात्र नभई लामो समयदेखि सञ्चित हुँदै आएको निराशाको जड पहिचान गर्न आवश्यक छ।

सांसद राईले आत्मदाह र आत्महत्याका घटनाबारे सरकारसँग चारवटा मुख्य प्रश्न रहेको बताए। पहिलो, समस्या नीतिगत हो कि होइन भन्ने विषयमा अध्ययन हुनुपर्ने; दोस्रो, ट्राफिक प्रहरीसँग सम्बन्धित कुनै समस्या भए त्यसबारे गहिरो अनुसन्धान गरिनुपर्ने; तेस्रो, आत्मदाह तथा आत्महत्याका घटना किन बढिरहेका छन् भन्ने विषयमा विशेष अध्ययन आवश्यक रहेको; र चौथो, सडक, सामाजिक संरचना तथा भौतिक पूर्वाधारको अवस्थाबारे गम्भीर समीक्षा गरिनुपर्ने उनको भनाइ थियो।

“कहाँ–कहाँ हामीले त्रुटि गर्‍यौं, कहाँ–कहाँ समस्या छन्, नीतिगत समस्या हो कि अन्य कुनै कारण ? यी सबै विषयमा सरकारले विशेष पहलकदमी गर्नुपर्छ,” उनले भने।

यातायात चालक, सवारी श्रमिक तथा सर्वसाधारणमा देखिएको चरम निराशाप्रति राज्य जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै राईले युवामा बढ्दो निराशा रोक्न ठोस कदम चाल्न सरकारसँग माग गरेका छन्।