काठमाडौं– नेपाली कांग्रेसकी सांसद सिता थपलिया (उर्मिला)ले वर्तमान सरकार नागरिकका आलोचना र असहज प्रश्न सुन्नबाट डराएको आरोप लगाएकी छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसद थपलियाले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न तथा जनजीविकासँग जोडिएका समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने बताइन्।
नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको भनाइ उद्धृत गर्दै उनले समाजको कुनै वर्गले अन्यायको अनुभूति गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन नसक्ने उल्लेख गरिन्। सरकार गठन भएको करिब आधा वर्ष बितिसक्दा पनि नागरिकमा निराशा बढ्दै गएको उनको भनाइ थियो।
‘सय दिनमै फरक गरेर देखाउँछौँ भन्नेहरू सरकारमा हुँदा पनि नागरिक किन झन् निराश छन्? अहिले देखिएका निराशाजनक घटनाहरू अपवाद नभई नियमितजस्ता देखिन थालेका छन्,’ उनले भनिन्।
सांसद थपलियाले राजनीतिक विश्लेषक भरत दाहालको पक्राउ प्रकरणप्रति ध्यानाकर्षण गराउँदै साइबर कानुनको दुरुपयोग गरेर आलोचनात्मक आवाज दबाउन खोजिएको आरोप लगाइन्। लोकतन्त्र भनेको सरकारको प्रशंसा मात्र सुन्ने व्यवस्था नभई असहज प्रश्नसमेत सहन सक्ने क्षमता भएको व्यवस्था भएको उनले बताइन्।
‘साइबर कानुनको आडमा वैधानिक आलोचनालाई अपराध बनाउने छुट राज्यलाई छैन। हथकडीले हात बाँध्न सकिएला, तर विचार बाँध्न सकिँदैन,’ उनले भनिन्।
उनले धादिङ र गोरखा जोड्ने त्रिशूली नदीमाथिको फुर्के खोलाको पक्की पुल बाढीले बगाएको २८ दिन बितिसक्दा पनि पुनर्निर्माण तथा वैकल्पिक व्यवस्थाप्रति सरकार गम्भीर नदेखिएको गुनासो गरिन्।
सांसद थपलियाले आसन्न चाडपर्वलाई लक्षित गर्दै बजारमा हुन सक्ने अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्न सरकारसँग माग गरिन्। साथै, असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै सम्भावित विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी गर्न सरकारलाई सचेत गराइन्।
सत्ता पक्षप्रति व्यङ्ग्य गर्दै उनले सरकार जनताका गुनासा र प्रश्नप्रति संवेदनशील बन्नुपर्ने बताइन्। ‘जनताले शब्द होइन, कर्म र जवाफ खोजिरहेका छन्,’ भन्दै उनले श्रमिक, किसान तथा आम नागरिकका समस्यालाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरिन्।



प्रतिक्रिया