अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनकुटाको हिले बजारको रोक्का जग्गा तत्काल फुकुवा गर्न सांसद राईको माग

धनकुटाको हिले बजारको रोक्का जग्गा तत्काल फुकुवा गर्न सांसद राईको माग


काठमाडौँ-नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले धनकुटा नगरपालिकास्थित पर्यटकीय क्षेत्र हिले बजारमा लामो समयदेखि रोक्का रहेको जग्गा तत्काल फुकुवा गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद राईले जग्गा रोक्का हुँदा स्थानीय बासिन्दा तथा व्यवसायीहरूको अर्बौं रुपैयाँ बराबरको लगानी प्रभावित भएको भन्दै भूमिसुधार मन्त्रालयलाई प्रक्रिया अघि बढाउन आग्रह गरे।

उनका अनुसार धनकुटाको प्रमुख पर्यटकीय केन्द्र हिले बजारमा जग्गा रोक्का रहँदा स्थानीयको आर्थिक तथा व्यावसायिक गतिविधिमा प्रत्यक्ष असर परेको छ। भारत, बंगलादेश, भुटान र सिक्किमबाट समेत पर्यटक आउने उक्त क्षेत्रको आर्थिक गतिविधि सुस्त बन्दै गएको उनले बताए।

सांसद राईले विक्रम संवत् २०६६ मा उत्तरपानी चिया बगान प्रणालीअन्तर्गतको १ हजार १५१ रोपनी जग्गामध्ये १४८ रोपनी जग्गा मन्त्रालयको निर्णयअनुसार सट्टापट्टा गरी सार्वजनिक संरचना निर्माण तथा स्थानीय बासिन्दालाई लालपुर्जा वितरण गरिएको जानकारी दिए।

उनका अनुसार उक्त जग्गामा संघीय सरकारको बजेटबाट खेलमैदान, नगरपालिकाको बजेटबाट बसपार्क, वडा कार्यालयको पहलमा समाधिस्थल, वक्रकुण्ड मन्दिर तथा २६६ जना स्थानीयका निजी आवास र व्यावसायिक भवन निर्माण भएका छन्।

तर, उक्त जग्गालाई २०७१ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मौखिक रूपमा र २०७५ सालमा औपचारिक रूपमा रोक्का राखेपछि समस्या उत्पन्न भएको उनले बताए। त्यसपछि स्थानीय बासिन्दा विशेष अदालत पुगेको र अदालतले आवश्यक निर्णय गर्ने अधिकार भूमिसुधार मन्त्रालयलाई दिएको जानकारी उनले सदनमा गराए।

जग्गा रोक्का रहेकाले स्थानीय व्यवसायीहरूले निर्माण गरेका तीनदेखि चार अर्ब रुपैयाँ बराबरका भौतिक संरचना बैंकिङ कारोबार तथा कर्जा प्रयोजनका लागि प्रयोग गर्न नसकेको सांसद राईको भनाइ छ।

उनले जिल्ला समन्वय समितिको नेतृत्वमा मालपोत, नापी, वन कार्यालय तथा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधि सम्मिलित समितिले सर्जमिन मुचुल्कासहितको प्रतिवेदन मन्त्रालयमा बुझाइसकेको भए पनि प्रक्रिया अगाडि नबढेको बताए।

सांसद राईले सरकारले सुशासन र द्रुत सेवा प्रवाहको प्रतिबद्धता जनाएको उल्लेख गर्दै हिले बजारका पीडित नागरिकको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरे।