अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश


काठमाडौं-सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सरकारका नाममा आदेश जारी गरेको छ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले दाहालमाथि दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै उनलाई अनुसन्धानको मिसिलसहित अदालतमा उपस्थित गराउन आदेश दिएको हो।

अदालतको आदेशमा आदेश प्राप्त भएको मितिबाट बाटाको म्यादबाहेक २४ घण्टाभित्र अनुसन्धानको मिसिल र बन्दीसहित उपस्थित हुन भनिएको छ। साथै, दाहाललाई पक्राउ गर्नुको कारण स्पष्ट पार्दै लिखित जवाफ पेश गर्न पनि सरकारलाई निर्देशन दिइएको छ।

आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने भए आधार र कारणसहित लिखित जवाफ पेश गर्नू।’

अमेरिकी पत्रिका ‘ग्रे जोन’ मा प्रकाशित एक रिपोर्टसँग सम्बन्धित विषयलाई लिएर सरकारले असोज ४ गते दाहाललाई पक्राउ गरेको थियो।

दाहालको रिहाइको माग गर्दै उनकी छोरी डेनिका दाहालले सोमबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सोही रिटमाथिको सुनुवाइपछि अदालतले सरकारसँग पक्राउको आधार माग्दै दाहाललाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सम्बन्धित निकायहरूलाई विपक्षी बनाइएको छ।