अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महासचिवको मन्तव्यपछि पार्टीभित्र एकताको सकारात्मक सन्देश गयो: केन्द्रीय सदस्य अधिकारी

महासचिवको मन्तव्यपछि पार्टीभित्र एकताको सकारात्मक सन्देश गयो: केन्द्रीय सदस्य अधिकारी


काठमाडौँ-नेकपा एमालेकी केन्द्रीय सदस्य गीता अधिकारीले महासचिवको मन्तव्यपछि पार्टीभित्र एकताको सकारात्मक सन्देश गएको बताएकी छन्।

एमालेको केन्द्रीय कमिटीको जारी तेस्रो बैठकमा मंगलबार बोल्दै अधिकारीले उपाध्यक्ष र महासचिवलाई धन्यवाद दिँदै अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनलाई पूर्ण समर्थन जनाइन्।

निर्वाचन परिणामको समीक्षा गर्दा बाह्य कारणसँगै पार्टीभित्रका सङ्गठनात्मक कमजोरी, जनतासँग बढेको दूरी, युवासँग पर्याप्त संवाद हुन नसकेको अवस्था तथा सञ्चार क्षेत्रमा देखिएका कमजोरीलाई समेत आत्मसमीक्षाको विषय बनाइनु सकारात्मक भएको उनले बताइन्।

प्रतिवेदनमा उल्लेख गरिएको ‘रियलाईजेशन’ अर्थात् वास्तविकताको बोधलाई अब सुधारका ठोस योजनामा बदल्नुपर्ने अधिकारीको भनाइ थियो। उनले सङ्गठन सुदृढीकरण, कार्यशैली सुधार, राजनीतिक संस्कारको विकास र जनतासँगको सम्बन्ध पुनःस्थापनालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिइन्।

अधिकारीले पार्टीभित्रको आन्तरिक एकता अहिलेको प्रमुख आवश्यकता भएको बताउँदै एकता कार्यकर्ताको तहमा मात्र नभई नेताहरूबीच पनि व्यवहारमा देखिनुपर्ने धारणा राखिन्।

मतभिन्नता स्वाभाविक हुने भन्दै उनले त्यसलाई पार्टीका विधि, कमिटी र संस्थागत प्रक्रियामार्फत समाधान गर्ने संस्कारको विकास गर्नुपर्ने बताइन्।