काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्र प्रसाद भण्डारीले पार्टी पुनर्गठन तथा निर्वाचन समीक्षाको नाममा कार्यकर्तालाई विभाजित गर्ने काम पार्टी नेताहरूबाटै भएको बताएका छन्।
पार्टीको जारी केन्द्रीय समितिको बैठकमा आफ्ना धारणा राख्दै भण्डारीले भूगोलमा रहेका सबै कमिटीहरूले निर्वाचनको समीक्षा प्रतिवेदन प्राप्त भइसकेको अवस्थामा तिनै प्रतिवेदनका आधारमा केन्द्रीय कमिटी एउटा निष्कर्षमा पुग्नु पर्ने बताएका छन्। ‘एउटै काम दोहोराउँदै,कार्यदलका नाममा नेताहरू तल तल पुगेर सुझाव सङ्कलन गर्ने कुरा नै सरासर गलत थियो ’ भण्डारीले बैठकमा भनेका छन् ‘अर्कोतिर पुनर्गठन भनेको मूल नेतृत्व फेर्न भने भाष्य मिडियाबाट बनाएर कार्यकर्तालाई पक्ष र विपक्षमा विभाजित गरियो।’
भण्डारीले अध्यक्षले बैठकमा प्रस्तुत गरेको प्रतिवेदनको समर्थन गर्दै यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय पमा एमाले विरुद्धको चलखेल प्रस्ट पारेको बताए। उनले यो पुनर्गठन अभियानले भूगोलमा पार्टी अझ कमजोर बनेको बताए । ‘कार्यदलका नाममा जे गरियो र मूल नेतृत्व फेर्न भन्ने भाष्य खडा गरियो। यसले पार्टीलाई अझै कमजोर र कार्यकर्तालाई विभिन्न खेमामा विभाजन गरेको छ’ भण्डारीले भने ‘यो क्षतिको जिम्मा पार्टी सचिवालयले लिने कि कार्यदलले ?’
पार्टी केन्द्रीय सचिवालयका नेताहरू बैठकमा एउटा निर्णय गर्ने,मिडियामा अर्को कुरा बोल्ने प्रवृत्तिले पार्टी भित्र अनेक प्रश्न उब्जाएको भण्डारीको भनाइ छ। ‘पार्टी सचिवालयको निर्णय भनेर एक खालको अन्तर पार्टी निर्देशन पठाइन्छ’ भण्डारीले भने ‘सचिवालयको जिम्मेवार नेता मिडियामा गएर त्यही अपानिका विरुद्ध विरोधीलाई बल पुग्ने गरी अभिव्यक्ति दिने प्रवृत्तिले पार्टी र कार्यकर्तालाई विचलित बनाउँछ । यो क्रम आजैबाट रोक्न म नेताहरूसँग आग्रह गर्दछु।’



प्रतिक्रिया