काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापाले एमाले विरुद्धको भाष्यको आयु सकिएको बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै थापाले चालु केन्द्रीय कमिटी बैठकले त्यो भाष्यको आयु सकिएको सन्देश दिएको मात्र होइन पार्टी एक ढिक्का भएर गलत भाष्यको मलामी गएको उल्लेख गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले भनेका छन्, ‘सबै चिजको आयु हुन्छ। एमालेविरुद्धको भाष्यको आयु पनि थियो। त्यो पूरा भयो। अहिले चलिरहेको केन्द्रीय कमिटी बैठकले गरेको सबैभन्दा ठूलो काम भनेको एमालेविरुद्ध सिर्जना गरिएको भाष्यको आयु सकिएको सन्देश दिनु हो।’
थापाले भ्रमको पर्दा च्यातिएपछि वास्तविक स्वरूप देखिने बताएका छन्। उनले जारी केन्द्रीय कमिटी बैठकले एमालेका कम्तीमा आठ वटा वास्तविकता उजागर गरेको उनले लेखेका छन्। उनले एमाले सबैभन्दा संगठित र अनुशासित पार्टी भएको दाबी गर्दै देशभक्ति, विकास, जनसमर्थन, भौगोलिक एकता र राष्ट्रिय स्वाभिमानको रक्षाका सवालमा पनि पार्टी अग्रस्थानमा रहेको बताएका छन्।
थापाले लेखेका छन्, ‘सबैभन्दा संगठित पार्टी एमाले हो, सबैभन्दा अनुशासित पार्टी एमाले हो, देशभक्त पार्टी एमाले हो, सबैभन्दा विकास गरेको पार्टी एमाले हो। जनताले धेरै माया गरेको पार्टी एमाले हो, सम्पूर्ण भूगोललाई जोड्ने पार्टी एमाले हो र राष्ट्रिय स्वाभिमानको रक्षक एमाले हो।’
उनले पछिल्लो चुनावी धक्काबाट एमाले जागृत भइसकेको पनि बताएका छन्। अब पार्टीले जस्तोसुकै ‘न्यारेटिभ’ र झुटलाई चिर्ने सामर्थ्य राख्ने दाबी गर्दै थापाले एमाले आफ्नो राजनीतिक आधार र संगठनलाई थप मजबुत बनाउने दिशामा अघि बढेको संकेत गरेका छन्।



प्रतिक्रिया