काठमाडौं-नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारीले फागुन २१ गतेको निर्वाचनलाई त्यसअघिका राजनीतिक घटनाक्रमको ‘रङ्गमञ्च’का रूपमा व्याख्या गरेकी छन्। उनले निर्वाचनमा एमालेको भूमिका कमजोर हुनुमा अध्यक्ष केपी शर्मा ओलीलाई मात्रै जिम्मेवार ठहर गर्न नहुने बताएकी छन्।
केन्द्रीय कमिटीको बैठकमा बोल्दै भण्डारीले पार्टीभित्रका कमजोरीको सम्पूर्ण अपजस अध्यक्षमाथि थोपरेर एमाले बलियो बन्न नसक्ने धारणा राखिन्। पार्टी नेतृत्व एक ढिक्का भएर चुनौतीको सामना गर्नुपर्ने उनले बताइन्।
पार्टी पुनर्निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको नयाँ सङ्कल्पसहित केन्द्रीय कमिटीको बैठकलाई महत्त्वपूर्ण मोडका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो।
अध्यक्ष ओलीले बैठकमा १३ बुँदामा समीक्षा र आत्म समीक्षासहितको प्रतिवेदन प्रस्तुत गरेको उल्लेख गर्दै भण्डारीले त्यसलाई पार्टीको आगामी दिशाका लागि आधार बनाउनुपर्ने बताइन्। ‘समुद्र मन्थन गर्दा अमृत निस्कँदा सबैले खान खोज्ने तर विष आउँदा भागाभाग हुने अवस्था आउनु राम्रो होइन,’ उनले भनिन्।
पछिल्लो राजनीतिक घटनाक्रममा एमालेविरुद्ध विभिन्न भाष्य निर्माण गरिएको दाबी गर्दै भण्डारीले भदौ २३ र २४ गतेका घटनालाई ‘केपी ओलीबिनाको एमाले र एमालेबिनाको देश बनाउने षड्यन्त्र’ तथा कम्युनिस्टबिनाको मुलुक बनाउने प्रयासका रूपमा बुझ्नुपर्ने बताइन्।
जात, धर्म र क्षेत्रका नाममा समाज विभाजन गर्ने प्रयास भइरहेको भन्दै उनले वैकल्पिक राजनीतिक शक्तिका रूपमा विभिन्न व्यक्तित्व र शक्तिलाई अघि सार्ने प्रयास भइरहेको दाबी गरिन्। हर्क साम्पाङ र बालेन शाहलगायतलाई प्रयोग गरेर राजनीतिक विकल्प निर्माण गर्न खोजिएको उनको भनाइ थियो।
पार्टीको नीति र विधि विपरीत सामाजिक सञ्जाल तथा सञ्चारमाध्यम प्रयोग गर्ने प्रवृत्तिलाई निस्तेज पार्नुपर्ने उनले बताइन्। पार्टीका निर्णय विपरीत गतिविधि गर्ने जोसुकैलाई आवश्यक कारबाही गर्न उनले बैठकसमक्ष आग्रह गरिन्।
‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने नारासहित पार्टीलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो।
जनतामा एमालेप्रतिको मनोभावना बुझ्ने गरी आगामी कार्यक्रम सञ्चालन गर्नुपर्ने, युवामाझ व्यापक कार्यक्रम लैजानुपर्ने र अनेरास्ववियुलाई विद्यार्थीबीच थप सङ्गठित गर्नुपर्ने उनले बताइन्।
प्रवासमा रहेका नेपालीलाई पार्टीसँग जोड्न तथा एमालेले गरेका सकारात्मक कामलाई डिजिटल सामग्रीमार्फत प्रभावकारी रूपमा प्रचार गर्नुपर्ने उनको सुझाव थियो।



प्रतिक्रिया