काठमाडौं-नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सुधारसहितको एकतालाई पार्टी पुनर्जागरणको आधार बताउँदै एमालेलाई पुनर्गठित गरेर वर्तमान चुनौतीहरूको सामना गर्नुपर्ने बताएका छन्।
एमालेको जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै महासचिव पोखरेलले आम निर्वाचनपछि पार्टीले प्राप्त गरेको परिणाम अकल्पनीय र पीडादायी रहेको उल्लेख गर्दै त्यसको गम्भीर समीक्षा आवश्यक रहेको बताएका हुन्।
‘निर्वाचनअघि प्रदेश कमिटीका अगुवा कमरेडहरूबाट प्राप्त रिपोर्ट उत्साहजनक थिए, तर मतपेटिका खुल्दै जाँदा परिणाम अपेक्षाभन्दा पूर्णतः फरक आयो,’ महासचिव पोखरेलले भने, ‘त्यसपछि पार्टीले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने अवस्था उत्पन्न भयो।’
महासचिव पोखरेलले जनताको बदलिएको मनोविज्ञान बुझ्न नसक्नु पार्टीको मुख्य कमजोरी रहेको उल्लेख गर्दै एमालेले आफूलाई जनतामा आधारित कार्यकर्ताको पार्टी दाबी गरे पनि जनताको मन बुझ्न नसकेको प्रश्नबाट समीक्षा सुरु हुनुपर्ने बताए।
महासचिव पोखरेलले पार्टी पुनर्गठनलाई नेतृत्व परिवर्तनको प्रश्नमा मात्र सीमित गर्न नहुने धारणा राखे। एमालेको इतिहासमा वैचारिक, राजनीतिक र संगठनात्मक पुनर्गठनका विभिन्न चरण रहेको उल्लेख गर्दै उनले पार्टीलाई समग्र रूपमा सुधार र रूपान्तरण गर्ने विषय नै अहिलेको मुख्य प्रश्न भएको बताए।
पार्टीभित्र अध्यक्ष र महासचिवबीच सम्बन्धका विषयमा चलेका चर्चाप्रति संकेत गर्दै पोखरेलले आफूले कहिल्यै विग्रह सिर्जना गर्ने वा विशेष महाधिवेशनको नेतृत्व गर्ने उद्देश्य नराखेको स्पष्ट पारे। असहमतिको नाममा एकअर्कामाथि अभियोग लगाउने प्रवृत्तिले पार्टीलाई कमजोर बनाउने उनको भनाइ थियो।
‘अध्यक्ष र महासचिवबीच मन फाटेको अनुभूति पार्टीपंक्तिमा परेको छ भने त्यसले पार्टी निर्माणमा सहयोग गर्दैन,’ उनले भने, ‘हाम्रो ध्यान पार्टीलाई कसरी बलियो बनाउने भन्नेमा केन्द्रित हुनुपर्छ।’
महासचिव पोखरेलले पार्टीसँग आफ्ना कमजोरी स्वीकार गर्ने, त्यसबाट सिक्ने र आफूलाई सुधार्ने क्षमता रहेको उल्लेख गर्दै यही सामर्थ्यलाई व्यवहारमा रूपान्तरण गर्न सके नयाँ उत्साह सिर्जना गर्न सकिने बताए।
महासचिव पोखरेलले वर्तमान राजनीतिक परिस्थिति चुनौतीपूर्ण रहेको उल्लेख गर्दै सरकारको स्वरूप, बदलिँदो भू–राजनीति तथा मुलुकको राजनीतिक दिशाले पार्टी र आन्दोलनको भविष्यसँग जोडिएका गम्भीर प्रश्न उठाएको बताए। यस्तो अवस्थामा एकअर्कामाथि कटाक्ष गर्नुको सट्टा पार्टीलाई एकढिक्का बनाएर अघि बढ्नुपर्ने उनको जोड थियो।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा संविधान निर्माण, नाकाबन्दीको सामना, रणनीतिक पूर्वाधार विकास, सामाजिक सुरक्षाको विस्तार तथा राष्ट्रिय हितका पक्षमा लिइएका अडानलाई एमालेको राजनीतिक पुँजीका रूपमा व्याख्या गर्दै पोखरेलले ती उपलब्धि हुँदाहुँदै पनि जनताले किन दूरी बनाए भन्ने विषयमा गहिरो विश्लेषण आवश्यक रहेको बताए।
महासचिव पोखरेलले नेपाली समाजमा बढ्दो उपभोक्तावाद, सूचना प्रविधिको विस्तार, वैदेशिक रोजगारी र सामाजिक परिवर्तनले नागरिकको सोच र अपेक्षामा ठूलो परिवर्तन ल्याएको उल्लेख गरे। भ्रष्टाचार, तस्करी, अराजकता र वैदेशिक पलायनप्रति बढ्दो असन्तुष्टिले लोकप्रियतावादी राजनीतिको विस्तारका लागि वातावरण निर्माण गरेको उनको भनाइ थियो।
युवा पुस्ता पार्टीसँग किन जोडिन नसकेको भन्ने विषयमा गम्भीर बहस आवश्यक रहेको बताउँदै पोखरेलले सूचना प्रविधिको युगमा मार्क्सवादको नयाँ ढंगले व्याख्या गर्नुपर्ने आवश्यकता औंल्याए। कार्यक्रम मात्रै बनाएर युवा नजोडिने भन्दै उनीहरूको अनुभव, भाषा र अपेक्षासँग पार्टी जोडिनुपर्ने उनले बताए।
महासचिव पोखरेलले निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलका सुझाव, समीक्षा प्रतिवेदन र नेतृत्वले प्रस्तुत गरेका प्रस्तावहरूलाई संश्लेषण गरेर कार्यान्वयनमा लैजानुपर्ने बताए। समस्या पहिचान भइसकेको भन्दै अब समाधान कार्यान्वयन गर्ने चरणमा प्रवेश गर्नुपर्ने उनको धारणा थियो।
उनले सुधार र एकतालाई परस्पर विरोधी नभई एकअर्काका पूरक विषयका रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै पार्टीभित्र स्वस्थ बहस, जीवनशैलीमा सुधार, जनतासँगको सम्बन्ध सुदृढीकरण र कार्यकर्तामा विश्वास तथा उत्साह जगाउन आवश्यक रहेको बताए।
केन्द्रीय कमिटीमा खुला छलफल गर्न आग्रह गर्दै पोखरेलले निर्णय भइसकेपछि बाहिर निरन्तर विवाद गर्ने संस्कार अन्त्य गर्नुपर्ने बताए। ‘बहस बैठकभित्र गरौं, तर निर्णयपछि सम्पूर्ण पार्टीपंक्ति एकताबद्ध भएर कार्यान्वयनमा जुट्नुपर्छ,’ उनले भने।
उनले अन्त्यमा सुधारसहितको एकतामार्फत एमालेलाई पुनर्जागृत र पुनर्गठित गर्दै वर्तमान चुनौतीहरूको सामना गर्न सकिने भन्दै पार्टीलाई नयाँ ऊर्जा र भावनात्मक एकतासहित अघि बढाउनुपर्नेमा जोड दिए।
पोखरेलको मन्तव्यको पूर्णपाठ यस्तो छ-
आम निर्वाचनपछि नेकपा (एमाले)ले प्राप्त गरेको परिणाम पार्टी जीवनका लागि अकल्पनीय र पीडाजनक थियो। निर्वाचनअघि प्रदेश कमिटीका अगुवा कमरेडहरूबाट प्राप्त रिपोर्टहरू उत्साहजनक थिए। तर मतपेटिका खुल्दै जाँदा परिणाम अपेक्षाभन्दा पूर्णतः फरक आयो । त्यसपछि पार्टीले गम्भीरतापूर्वक आत्मसमीक्षा गर्नुपर्ने अवस्था उत्पन्न भयो।
मुख्य प्रश्न थियो-जनताको बदलिएको मनोविज्ञान बुझ्न नसक्ने अवस्थामा हामी कसरी पुग्यौं ? जनता हामीबाट टाढिइसकेका रहेछन्। तर हामी भने जनता अझै आफ्नै साथमा छन् भन्ने धारणामा रहिरह्यौं। आफूलाई जनतामा आधारित कार्यकर्ताको पार्टी भनेर गर्व गर्ने नेकपा (एमाले) ले जनताको मन पढ्न किन सकेन ? यही प्रश्नबाट पार्टीको समीक्षा सुरु हुनुपर्छ।
एसियाकै सङ्गठित पार्टीका रूपमा आफूलाई प्रस्तुत गर्दै आएको एमालेको निर्वाचनपछिको विश्लेषण यदी कमजोर र सतही भयो भने त्यसबाट पाठ सिक्न सकिँदैन । त्यसैले पार्टीभित्र रहेका कमजोरीहरू पहिचान गर्ने, तिनको समाधान खोज्ने र त्यसका आधारमा पार्टी पुनर्गठनको कार्ययोजना निर्माण गर्ने उद्देश्यले निर्वाचन समीक्षा तथा पुनर्गठनसम्बन्धी कार्यदल गठन गरिएको हो।
पुनर्गठनलाई नेतृत्व परिवर्तनमा सीमित गर्नुहुँदैन
पार्टी पुनर्गठनको प्रश्नलाई केवल नेतृत्व परिवर्तनको प्रश्नका रूपमा बुझ्नु उचित हुँदैन। एमालेको इतिहासमा वैचारिक, राजनीतिक र सङ्गठनात्मक पुनर्गठनका विभिन्न चरणहरू छन्। वि.सं. २०३७ सालमा तत्कालीन मालेले गरेको वैचारिक बहस र त्यसबाट प्राप्त निष्कर्षले झापा विद्रोहकालीन उग्रवामपन्थी तथा अतिवादी भूलहरू सच्याउँदै पार्टीलाई जनआन्दोलन र जनसङ्घर्षको दिशामा अघि बढाउन निर्णायक भूमिका खेलेको थियो। त्यस अर्थमा त्यो पनि वैचारिक पुनर्गठन थियो।
त्यसैगरी, आठौं राष्ट्रिय महाधिवेशनले जनताको बहुदलीय जनवादको आधारमा पार्टी जीवनको लोकतान्त्रीकरणसँगै बहुपदीय संरचनासहितको सङ्गठनात्मक प्रणाली विकास गर्याे। यसलाई पनि एमालेको सङ्गठनात्मक पुनर्गठनकै एउटा महत्त्वपूर्ण चरणका रूपमा बुझ्नुपर्छ।
त्यसैले पुनर्गठनलाई नेतृत्वको प्रश्नमा मात्र सीमित गर्नुहुँदैन। मूल प्रश्न पार्टीलाई समग्रतामा कसरी सुधार र रूपान्तरण गर्ने भन्ने हो। दुर्भाग्यवश, पुनर्गठनको बहस सुरु भएपछि त्यो व्यक्ति र अध्यक्षको प्रश्नमा बढी केन्द्रित भयो । यसले पार्टीपङ्क्तिमा मनोवैज्ञानिक विभाजनसमेत सिर्जना गर्याे।
असमझदारीलाई विग्रहमा बदलिन दिनुहुँदैन
पार्टीभित्र अध्यक्ष र महासचिवबीचको सम्बन्धका विषयमा विभिन्न चर्चा चले। मेरो स्पष्ट धारणा छ-पार्टीभित्र अभियोग लगाउने, विग्रह सिर्जना गर्ने वा विशेष महाधिवेशनको नेतृत्व गर्ने मेरो उद्देश्य होइन। मैले पार्टी अध्यक्षसँग लामो समय सँगै काम गरेको छु। त्यसैले असहमतिको नाममा एकअर्कालाई अभियोग लगाउने बाटो पार्टीका लागि उपयोगी हुँदैन।
कार्यदलले विभिन्न समूहबाट प्राप्त सुझावहरूलाई सकेसम्म जस्ताको तस्तै समेट्ने प्रयास गरेको थियो। त्यस क्रममा प्रतिवेदनका केही बुँदाले गलत बुझाइ र अविश्वास उत्पन्न गरेको हुनसक्छ। विशेष महाधिवेशनमा जानुहुँदैन र पार्टीको पुनर्गठन पार्टी केन्द्र आफैले गर्नुपर्छ भन्ने आशयमा राखिएको एउटा बुँदाको सन्देश फरक रूपमा बुझिन पुग्यो। मेरो आशय नेतृत्व परिवर्तनको माग गर्नु थिएन।
आज हामीले विगतका असमझदारीलाई अझ ठूलो तनावको विषय बनाउनु हुँदैन। अध्यक्ष र महासचिवबीच मन फाटेको अनुभूति पार्टीपङ्क्तिमा परेको छ भने त्यसले पार्टी निर्माणमा सहयोग गर्दैन। हाम्रो ध्यान पार्टीलाई कसरी बलियो बनाउने भन्ने दिशामा केन्द्रित हुनुपर्छ।
एमालेसँग आत्मसमीक्षा गर्ने सामर्थ्य छ
पार्टी अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा एउटा महत्वपूर्ण कुरा छ- पार्टीसँग आफ्ना कमजोरीहरू महसुस गर्ने, त्यसबाट सिक्ने र आफूलाई सुधार्ने सामर्थ्य छ। मेरो विचारमा यही नै अहिलेको सबैभन्दा महत्वपूर्ण आधार हो।
आत्मसमीक्षा गर्ने सामर्थ्यलाई व्यवहारमा रूपान्तरण गर्न सकियो भने पार्टीपङ्क्तिमा नयाँ उत्साह पैदा गर्न सकिन्छ। गल्ती स्वीकार गर्न सक्ने र त्यसबाट सिकेर अघि बढ्नसक्ने पार्टीले नै आफूलाई पुनर्जागृत गर्नसक्छ।
महाधिवेशनको समयमा बहस भए, विवाद भए, प्यानल बने। तर ती सबैलाई अनन्तकालसम्म बोकेर हिँड्नु हुँदैन। महाधिवेशनको मनोविज्ञान महाधिवेशनसँगै समाप्त हुनुपर्छ। आज प्रत्येक कमरेड पार्टी निर्माणका लागि योग्य र सक्षम छन् भन्ने विश्वासका साथ एउटै स्पिरिटमा अघि बढ्न आवश्यक छ।
चुनौती गम्भीर छ, त्यसैले एकता अपरिहार्य छ
आजको राजनीतिक परिस्थिति अत्यन्त चुनौतीपूर्ण छ। सरकारको स्वरूप, बदलिँदो भूराजनीति र मुलुकको राजनीतिक दिशाले हाम्रो आन्दोलन र पार्टीको भविष्यसँग सम्बन्धित गम्भीर प्रश्नहरू खडा गरेका छन्।
यस्तो अवस्थामा हामीले एकअर्कामाथि कटाक्ष गर्ने होइन, चुनौतीको सामना गर्न पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने सङ्कल्प गर्नुपर्छ। छलफल र बहसका क्रममा फरक-फरक धारणा हुनु स्वाभाविक हो। तर निर्णयमा पुगेपछि ती धारणाहरूलाई पार्टीको साझा निर्णयमा रूपान्तरण गर्न सक्नुपर्छ।
पार्टीभित्रको बहस निष्कर्षमा पुग्नुपर्छ र निष्कर्ष पार्टी निर्णयमा बदलिनुपर्छ। त्यसपछि सम्पूर्ण पार्टीपङ्क्ति त्यसैका आधारमा अघि बढ्नुपर्छ।
विगतका उपलब्धि हाम्रो राजनीतिक पुँजी हुन्
पार्टी अध्यक्षको नेतृत्वमा एमालेले गरेका कामहरू हाम्रो राजनीतिक पुँजी हुन्। संविधान निर्माणको चरणमा मुलुकलाई अस्थिरता, अराजकता तथा जातीय र क्षेत्रीय अतिवादतर्फ जान नदिन वैचारिक सङ्घर्षको नेतृत्व गर्ने क्रममा केपी शर्मा ओलीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
त्यतिबेला पार्टीले औपचारिक रूपमा सबै निर्णय गरिसकेको अवस्था नहुँदा पनि उहाँले उठाउनुभएको वैचारिक प्रश्नले व्यापक राजनीतिक प्रभाव पारेको थियो । समाजमा उठिरहेका महत्वपूर्ण अन्तरसङ्घर्षहरूलाई पहिचान गरेर त्यसको समाधान खोज्न सक्दा नेतृत्व निर्माण हुन्छ भन्ने कुराको एउटा उदाहरण त्यही अनुभव हो।
प्रधानमन्त्रीका रूपमा अध्यक्षको नेतृत्वमा भएका विभिन्न कामहरू पनि पार्टीका महत्त्वपूर्ण राजनीतिक पुँजी हुन्- नाकाबन्दीको सामना गर्ने अडान, जनताका निराश सपनालाई पुनः जागृत गर्ने प्रयास, देशभक्तिपूर्ण राजनीतिक अडान, रणनीतिक पूर्वाधार विकास र सामाजिक सुरक्षाको विस्तारजस्ता विषय त्यसका उदाहरण हुन्। तर प्रश्न के हो भने यी उपलब्धिहरू हुँदाहुँदै पनि पछिल्लो निर्वाचनमा जनताले ती एजेन्डामाथि पर्याप्त छलफल गर्न चाहेनन। त्यसैले जनताले पार्टीबाट दूरी किन बनाए भन्ने प्रश्नको गम्भीर विश्लेषण आवश्यक छ।
बदलिएको समाज र उपभोक्तावादलाई बुझ्नुपर्छ
नेपाली समाजमा पछिल्लो समय तीब्ररूपमा उपभोक्तावादको विकास भएको छ। सूचना प्रविधिको क्रान्ति, वैदेशिक रोजगारी, पूर्वाधार विकास र सामाजिक परिवर्तनले मानिसहरूको जीवनशैली र अपेक्षामा ठूलो परिवर्तन ल्याएका छन्।
आम्दानी र खर्चबीचको बढ्दो अन्तरले सामाजिक विचलनका विभिन्न रूपहरू जन्माएको छ। भ्रष्टाचार, अराजकता, तस्करी, कालोबजारी, डनगिरी र वैदेशिक पलायनजस्ता प्रवृत्तिप्रति नागरिकमा असन्तुष्टि बढेको छ। राज्यसँग सम्बन्धित समस्याप्रति पैदा भएको यही असन्तुष्टिले लोकप्रियतावादी राजनीतिको विस्तारका लागि वातावरण निर्माण गरेको बुझ्न सकिन्छ।
यसलाई केवल एल्गोरिदम वा सामाजिक सञ्जालको प्रभावका रूपमा बुझ्नु पर्याप्त हुँदैन। सूचना प्रविधि आज राजनीतिक प्रभावको महत्वपूर्ण माध्यम भए पनि त्यसको प्रभावलाई हाम्रो वैचारिक धरातलबाट बुझ्ने र त्यसको सामना गर्ने क्षमता विकास गर्नुपर्छ ।
सूचना प्रविधिको युगमा मार्क्सवादको नयाँ व्याख्या
आजको समाज सूचना प्रविधिमा आधारित समाजका रूपमा तीब्र गतिमा रूपान्तरण भइरहेको छ। यस्तो अवस्थामा हाम्रो वैचारिक धारलाई अझ परिष्कृत गर्न आवश्यक छ। विशेषगरी युवा पुस्ता हामीसँग किन जोडिन सकेको छैन भन्ने प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्छ। सूचना प्रविधिको क्रान्तिपछि नयाँ पुस्ताको मनोविज्ञान कसरी बदलिएको छ ? उनीहरूको सामाजिक चेतना, आकाङ्क्षा र राजनीतिक बुझाइ कसरी विकसित भइरहेको छ ? र यी परिवर्तनलाई मार्क्सवादसँग कसरी जोड्ने ? यी विषयमा पर्याप्त गम्भीर बहस हुनसकेको छैन।
युवाका लागि कार्यक्रम र योजना हामीले नबनाएका होइनौं। ‘मिसन ग्रासरुट’ देखि वडा, पालिका र युवा केन्द्रित विभिन्न कार्यक्रमसम्म सञ्चालन भएका छन्। तर कार्यक्रम बनाएर मात्र युवा जोडिँदैनन्। उनीहरूको मन जित्ने गरी उनीहरूकै अनुभव, अपेक्षा र भाषासँग जोडिन सक्नुपर्छ।
यदि युवालाई जोड्न सकिएन भने पार्टीको भविष्य गम्भीर प्रश्नमा पर्छ। पार्टी केवल पुरानो पुस्ताको राजनीतिक थलो बनेर विजयी हुन सक्दैन। भविष्य निर्माण गर्न युवामाझ जानैपर्छ।
योजना होइन, प्रभावकारी कार्यान्वयन आवश्यक छ
निर्वाचन समीक्षा र पुनर्गठनसम्बन्धी कार्यदलका सुझावहरूले पार्टी जीवनका धेरै समस्याहरू उजागर गरेका छन्। विभिन्न समूहबाट आएका सुझाव, निर्वाचन समीक्षा प्रतिवेदन र पार्टी अध्यक्षले प्रस्तुत गर्नुभएको दुई कार्यभार तथा १५ कामको प्रस्तावले धेरै विषय समेटेका छन् ।
कार्यदलको अन्तिम प्रतिवेदनले ४० वटा सङ्कल्पको कुरा पनि अघि सारेको छ। अब यी सबै सामग्रीलाई संश्लेषण गरेर पार्टीलाई सही दिशा प्रदान गर्ने काम आवश्यक छ । समस्या पहिचान भइसकेको छ, अब समाधान कार्यान्वयन गर्ने चरणमा प्रवेश गर्नुपर्छ।
पार्टीसँग आवश्यक ‘कच्चा पदार्थ’ प्राप्त भइसकेको छ। त्यसलाई संश्लेषण गरेर सही राजनीतिक, वैचारिक र सङ्गठनात्मक दिशामा रूपान्तरण गर्ने जिम्मेवारी नेतृत्वको हो।
सुधारसहितको एकता नै आजको आवश्यकता
आजको अवस्थामा पार्टीलाई अगाडि बढाउने आधार सुधारसहितको एकता हो। सुधार पनि गर्न नसक्ने र एकता पनि कायम गर्न नसक्ने अवस्था पार्टीका लागि गम्भीर हुनेछ। त्यसैले सुधार र एकतालाई परस्पर विरोधी विषयका रूपमा होइन, एकअर्काका पूरकका रूपमा बुझ्नुपर्छ।
पार्टीभित्रका छलफल स्वस्थ र मर्यादित हुनुपर्छ । तिनको उद्देश्य पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा अझ एकताबद्ध बनाउने हुनुपर्छ। जीवनशैली र आचरणमा समेत रूपान्तरण आवश्यक छ।
जनताले नेता-कार्यकर्ताको जीवनशैलीलाई नियालिरहेका छन् । हाम्रो जीवनशैली लोकतान्त्रिक संस्कारअनुकूल छ कि छैन भन्ने प्रश्न हामी आफैंले सोध्नुपर्छ। जनतासँग दूरी पैदा गर्ने अहंकारपूर्ण व्यवहारलाई परिवर्तन गर्नुपर्छ।
त्यसैले अब तीनवटा काममा विशेष ध्यान दिन आवश्यक छ- कमिटीलाई बलियो बनाउने, जनतासँगको सम्बन्धलाई सुदृढ गर्ने र कार्यकर्तापङ्क्तिमा विश्वास तथा उत्साह जगाउने।
बहस बैठकभित्र, निर्णयपछि एकताबद्ध कार्यान्वयन
केन्द्रीय कमिटीमा खुलेर छलफल गरौं । आफ्ना विचार राखौं, असहमति व्यक्त गरौं र आवश्यक प्रश्न उठाऔं । तर, बैठकले निर्णय गरिसकेपछि बाहिर निरन्तर विवाद गर्ने संस्कारलाई अन्त्य गर्नुपर्छ ।
लोकतान्त्रिक पार्टीमा बहस आवश्यक छ । तर बहसको अन्तिम उद्देश्य विभाजन होइन, साझा निष्कर्ष हो । निर्णयपछि पार्टीपङ्क्ति एउटै भावनाका साथ अघि बढ्न सक्नुपर्छ ।
आवश्यक परे संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरूसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने अवस्था पनि आउन सक्छ । तर, त्यसअघि पार्टीपङ्क्तिलाई एकताबद्ध बनाउनु, पार्टी शक्तिको मनोबल उच्च बनाउनु र भावनात्मक एकता निर्माण गर्नु पहिलो आवश्यकता हो ।
कुनै पनि नेता वा कार्यकर्ताले ‘पार्टीले मलाई उपेक्षा गर्याे’ भन्ने अनुभूति नहुने वातावरण बनाउनुपर्छ । विगतका विमतिका भारी बोकेर वर्तमानका चुनौती सामना गर्न सकिँदैन । आजको आवश्यकता विगतको हिसाबकिताबमा अल्झिने होइन, आत्मसमीक्षाबाट शक्ति आर्जन गरेर नयाँ यात्रामा अघि बढ्नु हो । एमालेसँग आफूलाई महसुस गर्ने, सिक्ने, सुधार्ने र पुनर्जागृत गर्ने सामथ्र्य छ । यही सामथ्र्यलाई व्यवहारमा प्रमाणित गर्दै पार्टीलाई नयाँ ऊर्जा र नयाँ एकताका साथ अघि बढाउनुपर्छ ।
सुधारसहितको एकता नै आजको आवश्यकता हो । यही आधारमा पार्टीलाई पुनर्जागृत र पुनर्गठित गर्दै आजका चुनौतीहरूको सामना गर्न सकिन्छ।



प्रतिक्रिया