काठमाडौं-नेकपा (एमाले)का केन्द्रीय सदस्य राजीव पहारीले फागुन २१ को निर्वाचनमा भएको क्षतिको समीक्षा गर्दा तल्लो तहबाट भएको गलत रिपोर्टिङलाई पनि ध्यान दिनुपर्ने बताएका छन्।
जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उनले निर्वाचनअघि विभिन्न क्षेत्रमा अत्यधिक मतान्तरले जित्ने दाबी गरिए पनि वास्तविक परिणाम त्यसअनुसार नआएको उल्लेख गरे। निर्वाचनमा पराजय भएपछि सम्पूर्ण दोष पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि थोपर्ने प्रवृत्ति उचित नभएको उनको भनाइ थियो।
‘निर्वाचनमा हामी सबैले यति हजार मतको फरकले जित्छौँ भन्यौँ। कतिपय क्षेत्रमा १० हजार मतको अन्तरमा जित्ने भन्यौँ, तर मत चाहिँ पाँच हजार कटाउन सकेनौँ। अनि हारेपछि त्यसको सम्पूर्ण दोष अध्यक्षलाई लगायौँ,’ पहारीले बैठकमा भने।
उनले अब निर्वाचनअघि र निर्वाचनपछिको अवस्थाबारे वस्तुनिष्ठ समीक्षा तथा विश्लेषण गरेर पार्टीलाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। पार्टीलाई थप चलायमान, जनमुखी र प्रभावकारी बनाउन यथार्थपरक मूल्यांकन आवश्यक रहेको उनको धारणा थियो।
पहारीले युवामैत्री, नवीन शैली तथा जनचाहना र भावनाअनुसार पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिए। अध्यक्ष ओलीले सबैलाई अभिभावकत्व प्रदान गर्दै एकताबद्ध बनाउन र कमजोरीबाट शिक्षा लिएर पार्टीलाई नयाँ उचाइमा पुर्याउन नेतृत्वदायी भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।
बैठकमा उनले अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन कार्यान्वयनमा विशेष जोड दिए। प्रतिवेदन कार्यदलले दिएका सुझावहरू समेटेर आएको भन्दै त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्पूर्ण पार्टीपंक्ति एकजुट हुनुपर्ने उनले बताए।



प्रतिक्रिया