काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने वा अध्यक्ष बन्ने कुनै चाहना नराखेको स्पष्ट गरेका छन्।
जारी केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै महासचिव पोखरेलले पार्टी अध्यक्ष ओलीमाथि अभियोग लगाउने, पार्टीमा विभाजन निम्त्याउने गरी विशेष महाधिवेशनको नेतृत्व गर्ने तथा अध्यक्ष बन्ने प्रयास गर्ने काम आफूबाट नहुने बताएका हुन्।
महासचिव पोखरेलले हरेक कठिन मोडमा अध्यक्ष ओलीलाई साथ दिएको उल्लेख गर्दै त्यही व्यक्तिले अध्यक्षमाथि आरोप लगाउनु उचित नहुने बताए।
‘हरेक जंक्चरमा साथमा भएको व्यक्तिले तपाईंलाई अभियोग लगाउन सक्छ र ? अभियोग लगाउने काम मबाट हुँदैन,’ उनले भने।
उनले पार्टीभित्र असहमति र विग्रह बढाउने गरी विशेष महाधिवेशनको नेतृत्व पनि आफूबाट नहुने स्पष्ट पारे। साथै, आफूले अध्यक्ष बन्ने कुनै इच्छा नरहेको कुरा अध्यक्ष ओलीलाई पहिल्यै बताएको उल्लेख गर्दै त्यसका बाबजुद पनि आफूविरुद्ध अध्यक्ष बन्न खोजेको आरोप लगाइएको बताए।
‘म अध्यक्ष बन्दिनँ भनेर स्पष्ट भनेको थिएँ। तर पनि ममाथि अध्यक्ष बन्न खोजेको आरोप लागिरह्यो,’ उनले भने, ‘वास्तवमा त्यो आरोप मेरो भावनाविपरीतको आरोप थियो।’
यसैबीच पोखरेलले अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टीसँग आत्मसमीक्षा गर्ने क्षमता रहेको उल्लेख गरिएको विषयलाई सकारात्मक रूपमा लिएको बताए। पार्टीका समस्या समाधानका लागि यही आत्मसमीक्षाको क्षमतालाई व्यवहारमा उतार्न आवश्यक रहेको उनको भनाइ थियो।
‘रियलाइजेसन गर्ने सामर्थ्य यो पार्टीसँग छ भन्ने कुरा अहिलेको सन्दर्भमा अत्यन्त महत्वपूर्ण निष्कर्ष हो,’ उनले भने, ‘त्यही क्षमतालाई प्रयोग गरेर कार्यकर्तामा उत्साह भर्न सकियो भने पार्टी निर्माणको आधार बलियो हुन्छ।’
पोखरेलले पार्टीले अझै धेरै विषयमा सुधार गर्न बाँकी रहेको, कार्यकर्ताको मन जित्नुपर्ने तथा पुनर्गठन र पुनर्जागरणका अभियानलाई गलत रूपमा बुझ्न नहुने धारणा पनि राखेका छन्। उनका अनुसार पार्टीलाई बलियो बनाउन आत्मसमीक्षा, सुधार र संगठनात्मक पुनर्गठनलाई प्रभावकारी रूपमा अघि बढाउन आवश्यक छ।



प्रतिक्रिया