अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्षलाई मात्रै दोष नथोपरौं, एमाले एकढिक्का भएर अघि बढ्नुपर्छ: सूर्य थापा

अध्यक्षलाई मात्रै दोष नथोपरौं, एमाले एकढिक्का भएर अघि बढ्नुपर्छ: सूर्य थापा


काठमाडौं-नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले पार्टीभित्रको नेतृत्व विवाद र गुटगत ध्रुवीकरण अन्त्य गर्दै एमालेलाई एकताबद्ध, सुदृढ र जनविश्वासयुक्त संगठनका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।

तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै नेता थापाले पार्टी राष्ट्रिय कार्यभार र आगामी निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्ने बेला आन्तरिक विवादमा अल्झिएको टिप्पणी गरे। उनले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन आत्मसमीक्षामा आधारित, स्पष्ट र पार्टी पुनर्जागरण लक्षित रहेको भन्दै त्यसको स्वागत गरे।

थापाले अध्यक्ष ओलीमाथि काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) नेतृत्वको स्थानीय सरकारले गरेको व्यवहारलाई व्यक्तिगत विषयका रूपमा नभई पार्टी नेतृत्वमाथिको आक्रमणका रूपमा बुझ्नुपर्ने धारणा राखे। त्यस विषयमा पार्टीभित्र एकीकृत दृष्टिकोण नबन्दा कमजोरी भएको उनको भनाइ थियो।

उनले पार्टीको निर्वाचनपछिको समीक्षा गर्दा सबै जिम्मेवारी अध्यक्षमाथि मात्र थोपर्न नहुने बताए। महाधिवेशनमा प्यानल बनाएर नेतृत्व चयन गरिएको अभ्यासको असर निर्वाचन परिणाममा देखिएको भन्दै त्यसको जिम्मेवारी सामूहिक रूपमा लिनुपर्ने उनको तर्क थियो। अध्यक्षको नेतृत्वमा जनतामाझ जान नसकिने भन्ने भाष्य निर्माण गरेर पार्टीविरोधी शक्तिहरूको प्रभावमा पर्न नहुने उनले बताए।

थापाले पार्टीको पराजयको कारण खोज्न गठित कार्यदल पात्र खोज्न बढी केन्द्रित भएको टिप्पणी गरे। कार्यदललाई पार्टी किन पराजित भयो भन्ने वस्तुगत कारणको खोजी गर्नुपर्नेमा को जिम्मेवार हो भन्ने बहसमा केन्द्रित गरिएको उनको धारणा थियो।

उनले नेतृत्व परिवर्तनलाई मात्रै समाधानका रूपमा प्रस्तुत गर्न नहुने बताए। दुई कार्यकाल र ७० वर्षे उमेरहदलाई पनि कुनै ‘रामबाण उपचार’ का रूपमा लिन नहुने उल्लेख गर्दै नेतृत्व निर्माण, पुस्तान्तरण र जिम्मेवारी हस्तान्तरणको विषय राजनीतिक प्रतिवेदनमा स्पष्ट रूपमा आएको बताए।

थापाले पार्टीभित्रको गुटगत ध्रुवीकरण लुम्बिनी प्रदेशको पहिलो अधिवेशनदेखि तीव्र बनेको उल्लेख गर्दै प्यानल संस्कृति र विभाजनकारी प्रवृत्तिबाट शिक्षा लिनुपर्ने बताए। आन्तरिक विभाजनका साथ निर्वाचन जित्न नसकिने भएकाले एमाले एकढिक्का भएर चुनावी मैदानमा जानुपर्ने उनको जोड थियो।

उनले अध्यक्षले मार्गप्रशस्त गर्नुपर्ने बहस पार्टीका विभिन्न तहका बैठक र ११औँ महाधिवेशनबाट अस्वीकृत भइसकेको विषय भएको भन्दै त्यसलाई निरन्तर सार्वजनिक बहसको विषय बनाइरहन नहुने बताए। पार्टीलाई अन्त्यहीन बहसको ‘डिबेट क्लब’ बनाउन नहुने र महाधिवेशनका निर्णय तथा पार्टी विधि सबैका लागि बाध्यकारी हुनुपर्ने उनको भनाइ थियो।

भदौ २३ र २४ गतेका घटनाबारे पार्टीले साझा दृष्टिकोण बनाउनुपर्ने आवश्यकता औँल्याउँदै थापाले उपलब्ध तथ्य, प्रमाण, विभिन्न आयोगका प्रतिवेदन, ग्रेजोनको खुलासा तथा मानवअधिकारसम्बन्धी अध्ययनको विश्लेषण गरी सत्यतथ्य अभिलेखीकरणका लागि निष्पक्ष नागरिक छानबिनको पहल गर्नुपर्ने धारणा राखे।

थापाले अध्यक्ष ओली तथा उपाध्यक्ष–महासचिवबीच पछिल्लो समय देखिएको सम्बन्धको तिक्तताले पार्टीपंक्तिमा निराशा बढाएको उल्लेख गर्दै नेतृत्व तहबीच पुनः विश्वास र सहकार्यको वातावरण निर्माण गर्न आग्रह गरे। केही महिनाअघि व्यक्त गरिएको सहकार्यको प्रतिबद्धतालाई व्यवहारमा उतार्नुपर्ने उनको भनाइ थियो।

उनले पार्टी र नेतृत्वविरुद्ध फैलाइएका कुप्रचारको प्रतिवाद गर्न कार्यकर्तालाई आह्वान गर्दै सरकारका संविधानविरोधी तथा जनविरोधी गतिविधिविरुद्ध सशक्त रूपमा आवाज उठाउनुपर्ने बताए। आत्मनिन्दा, गुनासो र विभाजनमा ऊर्जा खर्च नगरी पार्टीलाई थप एकताबद्ध र क्रियाशील बनाउँदै असफलताबाट सफलतातर्फ अघि बढ्नुपर्नेमा उनले जोड दिए।