काठमाडौं-नेकपा एमालेका केन्द्रीय सदस्य एवं जनसङ्गठन समन्वय प्रमुख विशाल भट्टराईले पार्टी एकताबद्ध भएर अघि बढे वर्तमान चुनौतीको सामना गर्न सक्ने बताएका छन्।
बुधवार केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उल्लेखित दुई कार्यभार र १५ कामको बाटोमा एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।
उनले पार्टीको अवस्थालाई ‘अचानक भासिएको फराकिलो राजमार्ग’सँग तुलना गर्दै त्यसलाई पुनः सञ्चालनयोग्य बनाउने काम नेतृत्वबाट भएको बताए।
उनले भने, ‘हामी फराकिलो राजमार्गमा निर्बाध यात्रामा थियौँ, अचानक राजमार्ग भासियो। कसैले दायाँ जाऊ भने, कसैले बायाँ, कसैले फर्कौँ भने, कसैले सडक पुरेर जाऊ भने। अन्तमा सडक पुर्ने कामको नेतृत्व अध्यक्ष कमरेडले गर्नुभयो। अब हामी सबैले मिलेर पुरेको बाटोबाट अघि बढ्छौँ।’
भट्टराईले राष्ट्रिय जीवनका प्रत्येक क्षेत्रमा नयाँ पुस्ताको निर्णायक उपस्थिति बढ्दै गएको तर एमालेको उपस्थिति भने ती क्षेत्रमा कमजोर बन्दै गएको बताए। पार्टीमा युवाको आकर्षण बढाउने कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उनको धारणा थियो।
‘राष्ट्रिय जीवनका प्रत्येक क्षेत्रमा नयाँ पुस्ता निर्णायक रूपमा आयो, हामी त्यहाँ पातलिएका छौँ। हाम्रो उपस्थिति बाक्लो बनाउन युवा आकर्षणको कार्यक्रम अपरिहार्य छ,’ उनले भने।
भट्टराईले एमाले बाह्य आक्रमण र सामाजिक सञ्जालको दुरुपयोगबाट प्रभावित भएको पनि बताए। पार्टीविरुद्ध फैलाइएका भ्रमपूर्ण सन्देशको समयमै र योजनाबद्ध रूपमा प्रतिवाद गर्न नसक्दा त्यसको असर जनमतमा परेको उनको भनाइ थियो।
उनका अनुसार पार्टीले सामाजिक सञ्जालमा फैलिएका भ्रम र गलत सूचनाको प्रभावकारी प्रतिवाद गर्न नसक्दा जनतामाझ एमालेबारे नकारात्मक धारणा निर्माण भयो र त्यसले चुनावी परिणाममा समेत असर पारेको हो।
भट्टराईले आगामी दिनमा पार्टी सङ्गठनलाई बलियो बनाउँदै नयाँ पुस्तासँगको सम्बन्ध विस्तार र डिजिटल माध्यममा प्रभावकारी उपस्थिति बढाउनुपर्नेमा जोड दिएका छन्।



प्रतिक्रिया