काठमाडौं- नेकपा एमालेका सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबाट नयाँ जनादेश प्राप्त भइसकेकाले अब प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दाभन्दा एमालेलाई जनताबीच पुनःस्थापित र सुदृढ गर्ने दिशामा अघि बढ्नुपर्ने बताएका छन्।
पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै कार्कीले अबको प्रमुख राजनीतिक कार्यभार स्थानीय तहको निर्वाचनको तयारी भएको बताए। त्यसअघि पार्टी पङ्क्तिलाई व्यवस्थित, सक्रिय र एकताबद्ध बनाउनुपर्नेमा उनले जोड दिए।
उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदनलाई केन्द्रीय कमिटी सदस्यहरूको पृष्ठपोषणसहित आवश्यक परिमार्जन गरी स्पष्ट कार्यदिशा, समयसीमा र जिम्मेवारीसहित कार्यान्वयनमा लैजानुपर्ने कार्कीको प्रस्ताव छ ।
कार्कीले भदौ २३–२४ पछिको राजनीतिक परिस्थितिमा संविधान, लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रिय हितको संरक्षणलाई एमालेले महत्वपूर्ण दायित्वका रूपमा लिनुपर्ने बताए। संविधान पक्षधर राजनीतिक शक्तिहरूसँग साझा विषयमा आवश्यकताअनुसार कार्यगत सहकार्य गर्न सकिने भए पनि सहकार्य र पार्टी एकीकरणलाई एउटै रूपमा बुझ्न नहुने उनको भनाइ थियो।‘नेकपा एमालेको आफ्नै वैचारिक, सांगठनिक र राजनीतिक पहिचानलाई अझ सुदृढ बनाउँदै अघि बढ्नुपर्छ,’ कार्की भने।
कार्की पार्टीको आन्तरिक एकता, संगठनको पुनर्संरचना र जनतासँगको सम्बन्ध पुनःस्थापनालाई तत्कालको पहिलो प्राथमिकता बनाउनुपर्ने बताए। पार्टीको आत्मगत अवस्था बलियो नबनाई सडक संघर्ष वा अन्य राजनीतिक अभियान प्रभावकारी हुन नसक्ने उनको धारणा थियो। ‘पहिले पार्टीलाई व्यवस्थित र एकताबद्ध बनाऔँ, संगठनलाई जनतासँग जोडौँ, त्यसपछि स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर सम्पूर्ण पार्टी परिचालन गरौँ,’ कार्कीले भने।
उनले पार्टीभित्रको अहिलेको प्रयास कुनै व्यक्ति वा समूहलाई जिताउनेभन्दा एमालेलाई बलियो, एकताबद्ध, जनमुखी र आगामी चुनौती सामना गर्न सक्ने पार्टी बनाउने दिशामा केन्द्रित हुनुपर्ने बताए।



प्रतिक्रिया