अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाजको दुर्घटना, सबै यात्रु सकुशल

डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाजको दुर्घटना, सबै यात्रु सकुशल


सुर्खेत-डोल्पाको जुफाल विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पछाडितर्फको दायाँ पाङ्ग्रा खुस्किएको छ। जहाजमा रहेका १३ जना यात्रु भने सकुशल रहेका छन् ।

नेपालगञ्जबाट जुफालका लागि उडेको जहाज आज बिहान ८ः२५ बजे अवतरण गर्ने क्रममा धावनमार्गमा पाङ्ग्रा खुस्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल राज गिरीका अनुसार जहाजमा सात जना विदेशी र छ जना नेपाली गरी १३ जना यात्रु थिए । यात्रुमध्ये ११ जना पुरुष र दुई जना महिला रहेका थिए । सबै यात्रु सकुशल रहेको उनले जानकारी दिए ।

जुफाल विमानस्थल प्रमुख मुकुन्द पौडेलले अवतरणका क्रममा जहाजको पछाडिको पाङ्ग्रा खुस्किएको बताए । जहाज धावनमार्गमै रहेको र प्राविधिक टोलीले जाँच गरिरहेको उनले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जहाजमा सामान्य समस्या देखिएको र सबै यात्रु सकुशल रहेको बताइन् ।

जहाजको प्राविधिक जाँच तथा आवश्यक मर्मतका लागि हेलिकोप्टरमार्फत इन्जिनियर ल्याउने तयारी भइरहेको विमानस्थल प्रमुख पौडेलले जानकारी दिए  ।

जहाजमा पाङ्ग्रासम्बन्धी समस्या देखिए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।