विराटनगर-भारी वर्षा, हावाहुरी तथा चट्याङसहितको प्रतिकूल मौसमको पूर्वानुमानपछि कोशी प्रदेशका विराटनगर महानगरपालिका र इटहरी उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।
जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) तथा सम्बन्धित क्षेत्रका विज्ञहरूले देशका विभिन्न स्थानमा भारी वर्षासहित हावाहुरी र चट्याङको सम्भावना रहेको पूर्वानुमान गरेपछि विद्यार्थी, शिक्षक तथा विद्यालय कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै स्थानीय तहहरूले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।
विराटनगर महानगरपालिकाले असोज ८ र ९ गते दुई दिन महानगर क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। महानगरपालिकाका महाशाखा प्रमुख रामप्रसाद ढुंगेलका अनुसार प्रतिकूल मौसमका कारण हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै विद्यालय बन्द गरिएको हो।
त्यस्तै, इटहरी उपमहानगरपालिकाले पनि असोज ८ र ९ गते दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरूलाई उक्त दुई दिन बिदा दिन निर्देशन दिएको हो।
इटहरी उपमहानगरपालिकाले जारी गरेको सूचनामा मौसम प्रतिकूलताका कारण विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालालाई सचेत र सुरक्षित रहन आह्वान गरिएको उल्लेख छ। शिक्षा तथा खेलकुद मन्त्रालयको सूचनालाई समेत आधार बनाउँदै विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाका अधिकृतस्तर आठौँ रमेशकुमार शाहद्वारा जारी सूचनामा असोज ८ र ९ गते दिइने बिदा मिनपचास बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्न भनिएको छ।
कोशी प्रदेशका अधिकांश जिल्लामा गएरातिदेखि नै वर्षा भइरहेको छ। मौसम पूर्वानुमानअनुसार आगामी दिनमा पनि वर्षा जारी रहनसक्ने भएकाले स्थानीय तहहरूले विद्यालय तथा विद्यार्थीको सुरक्षाका लागि आवश्यक सतर्कता अपनाउन थालेका छन्।




प्रतिक्रिया