अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्षाको पूर्वानुमानपछि उपत्यकाका नदी करिडोरमा पार्किङ निषेध

वर्षाको पूर्वानुमानपछि उपत्यकाका नदी करिडोरमा पार्किङ निषेध


काठमाडौँ-मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि चार दिनसम्म वर्षा हुने पूर्वानुमान गरेपछि काठमाडौँ उपत्यकामा पूर्वसचेतना अपनाइएको छ।

महाशाखाले बिहीबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी जिल्लामा वर्षासँगै जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

वर्षाका कारण उपत्यकाका नदी तथा खोलामा बहाव बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले नदी करिडोर क्षेत्रमा सवारीसाधन रोक्न तथा पार्किङ गर्न निषेध गरेको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरका जोखिमयुक्त करिडोर क्षेत्रमा वर्षाको जोखिम अवधिभर कुनै पनि सवारीसाधन रोक्न र पार्किङ गर्न पाइने छैन।

बागमती, विष्णुमती, धोबीखोला र हनुमन्ते खोला करिडोरमा पार्किङ निषेध गरिएको प्रहरीले जनाएको छ। साथै, करिडोर क्षेत्रमा सञ्चालित वर्कसपमा समेत सवारीसाधन नराख्न माइकिङमार्फत जानकारी गराइएको एसपी सुवेदीले बताए।

यसैबीच, मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा बनेको गहिरो न्यूनचापीय प्रणाली आगामी २४ घण्टापछि कमजोर हुँदै जाने सम्भावना रहेको जनाएको छ। वर्षाका कारण नदी तथा खोलाको जलस्तर बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।