काठमाडौँ-नेपाली कांग्रेसले १५औँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक गरिएको लोगोमा पार्टीका संस्थापक नेता तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालादेखि निवर्तमान सभापति शेरबहादुर देउवासम्मका नेताहरूको तस्बिर समेटिएको छ।
लोगोमा राखिएको ‘१५’ अंकको ‘१’ मा कांग्रेसका सात जना प्रमुख नेताहरूको तस्बिर राखिएको छ। तस्बिरमा बीपी कोइराला, सुवर्णशमशेर जबरा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा रहेका छन्। सोही भागमा चन्द्र र सूर्यको आकृति पनि समावेश गरिएको छ।
कांग्रेसले १५औँ महाधिवेशनको मूल नारा ‘गौरव, गति र गन्तव्य’ तय गरेको छ। त्यस्तै महाधिवेशनको स्लोगनका रूपमा ‘परम्पराको सम्मान, परिवर्तनको सङ्कल्प, समुन्नत नेपालको लागि सबल कांग्रेस–अबको विकल्प’ राखिएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म आयोजना हुँदैछ। महाधिवेशनमार्फत पार्टीको आगामी नेतृत्व, नीति तथा संगठनात्मक दिशाबारे निर्णय हुने कांग्रेसले जनाएको छ।




प्रतिक्रिया