अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भदौ २४ को घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न एमालेको माग

भदौ २४ को घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न एमालेको माग


काठमाडौँ-नेकपा (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठकले सरकारको कार्यशैली, सुशासन, राष्ट्रियता, लोकतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न समसामयिक प्रस्ताव पारित गरेको छ।

ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा असोज ५ देखि ८ गतेसम्म अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नयाँ सरकार गठनपछि भएका विभिन्न घटनाप्रति आपत्ति जनाएको हो। बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई रातारात घर घेराउ गरी गिरफ्तार गर्न खोजिएको घटनालाई ‘राजनीतिक प्रतिशोधको पराकाष्ठा’ भन्दै उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीको समेत निन्दा गरेको छ।

भदौ २३ र २४ गते भएका घटनामा षड्यन्त्र भएको दाबी गर्दै एमालेले भदौ २४ को राज्य विध्वंसबारे निष्पक्ष छानबिन गर्न तत्काल सक्षम न्यायिक आयोग गठन गर्न माग गरेको छ। यसअघि गठित आयोगका प्रतिवेदन पूर्ण पाठसहित सार्वजनिक गर्नुपर्ने पनि बैठकको माग छ। सुकुम्बासी बस्तीमा डोजर चलाएर नागरिक विस्थापित भएको र पाँच जनाले आत्महत्या गरेको घटनाप्रति चिन्ता व्यक्त गर्दै एमालेले विस्थापितको व्यवस्थापन गर्न नसकेको भन्दै सरकारको आलोचना गरेको छ।

बैठकले संविधानले सुनिश्चित गरेका ट्रेड युनियन, स्ववियु र मिडिया स्वतन्त्रता नियन्त्रण गर्न खोजिएको आरोप लगाउँदै सरकारको आलोचना गर्ने नागरिक तथा अभियन्तालाई पक्राउ गर्ने कार्यप्रति आपत्ति जनाएको छ। संविधान संशोधन आवश्यकता र औचित्यका आधारमा हुनुपर्ने धारणा राख्दै एमालेले वर्तमान सरकारको नियतमाथि प्रश्न उठाएको छ र संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प गरेको जनाएको छ।

यस्तै, बजारमा खाना पकाउने ग्यासको अभाव, अस्वाभाविक महँगी र बढाइएको करका कारण नागरिक आक्रान्त भएको एमालेको ठहर छ। बढ्दो आत्महत्या, युवाको वैदेशिक पलायन तथा उद्योगी–व्यवसायीको खस्किँदो मनोबलप्रति सरकार संवेदनहीन बनेको आरोप लगाउँदै महँगी नियन्त्रण, ग्यासको सहज आपूर्ति र अस्वाभाविक कर फिर्ता लिन माग गरिएको छ। व्यावसायिक प्रतिष्ठानमा हमला तथा आगजनी गर्नेहरूलाई कानुनी कारबाही गर्न पनि एमालेले माग गरेको छ।

राष्ट्रिय हित, प्राकृतिक स्रोतको संरक्षण र राष्ट्रिय स्वाभिमानको विषय गम्भीर बनेको भन्दै एमालेले प्रधानमन्त्रीले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन आग्रह गरेको छ। बैठकले राष्ट्रिय हित, लोकतन्त्र र संविधानको रक्षाका लागि सबै देशभक्त, लोकतान्त्रिक दल तथा नागरिकलाई एकजुट हुन आह्वानसमेत गरेको छ।