अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कालीगण्डकीले म्याग्दीमा पक्की पुल बगायो, घरमा पहिरो खस्दा २ जना बेपत्ता

कालीगण्डकीले म्याग्दीमा पक्की पुल बगायो, घरमा पहिरो खस्दा २ जना बेपत्ता


म्याग्दी-कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पक्की पुल बगाएको छ। बेनी-जोमसोम-कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगर र वडा नम्बर–२ भुरुङ्ग–तातोपानीको नौलीबगर जोड्ने पक्की पुल आइतबार बिहान कालीगण्डकी नदीले बगाएको हो।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार पुल बगेपछि गाउँपालिकाका वडा नम्बर २, ३ र ४ सहित मुस्ताङसँगको यातायात सम्पर्क विच्छेद भएको छ।

यसैबीच, लगातारको वर्षाका कारण अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा एउटा र वडा नम्बर–३ को फगाममा एउटा घर पहिरोमा पुरिएको छ। पहिरोमा पुरिएका दुई जनाको खोजी भइरहेको अध्यक्ष पुनले जानकारी दिए।

बेनी–जोमसोम सडकअन्तर्गत खामभित्तामा पनि कालीगण्डकी नदीले सडक कटान गरेको छ। सडक कटान भएपछि उक्त क्षेत्रमा यातायात सञ्चालनमा समेत समस्या भएको छ।

त्यस्तै, अन्नपूर्ण गाउँपालिका–४ घरापमा रहेको निलगिरि आधारभूत विद्यालयमा समेत क्षति पुगेको छ। वर्षा र नदीको बहावका कारण जिल्लाका विभिन्न क्षेत्रमा सडक, पुल तथा भौतिक संरचनामा क्षति पुगेपछि स्थानीय जनजीवन प्रभावित भएको छ।