काठमाडौं-सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु दर्शनाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ प्रक्रियामाथि प्रश्न उठाएकी छन्। उनले कसुर देखिए पक्राउ गर्न सकिने भए पनि त्यसका लागि कानुनी प्रक्रिया र प्रमाणको आधार आवश्यक हुने बताएकी हुन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै दर्शनाले आरोप मात्रका आधारमा कसुर प्रमाणित नहुने उल्लेख गरेकी छन्। उनले पक्राउ गर्दा पनि कानुन, विधि, प्रक्रिया र प्रमाणको पालना हुनुपर्नेमा जोड दिएकी छन्।
‘कसुर देखिए पक्राउ गर्न पाइन्छ भनेर कानुनमै व्यवस्था छ। तर पक्राउ गर्दा पनि सुर र ताल मिल्नैपर्छ । कसुर अदृश्य भए पनि कानुनले प्रमाण माग्छ । आरोप मात्र पर्याप्त हुँदैन, कसुर पुष्टि गर्ने आधार र प्रमाण पनि चाहिन्छ,’ उनले लेखेकी छन्।
उनले कानुनको शासनमा अधिकार प्रयोग गर्न पाइने भए पनि विधि र प्रमाणबिना अधिकार प्रयोग गर्न नहुने बताएकी छन्।
‘कानुनको शासन भनेकै यही हो । अधिकार प्रयोग गर्न पाइन्छ, तर विधि र प्रमाणबिना होइन,’ दर्शनाले भनेकी छन् ।
दर्शनाले जबराको पक्राउलाई ‘सुरक्षित स्थानमा केही समयको स्थानान्तरण गर्न गरिएको पक्राउ’का रूपमा समेत उल्लेख गर्दै उनको सुरक्षामा सतर्कता अपनाउन आग्रह गरेकी छन् ।
पूर्वप्रधानन्यायाधीश जबरालाई नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय, टेकुले शनिबार मध्यरातमा पक्राउ गरेको थियो । आइतबार दिनभर कार्यालयमा राखिएका जबरालाई प्रहरीले अपराह्नतिर आफन्तको जिम्मा लगाएको थियो ।




प्रतिक्रिया