काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सहसचिव योगेन्द्र पाण्डेले निजामती सेवाबाट राजीनामा दिएका छन्।
पाण्डेले बुधबारदेखि लागू हुने गरी राजीनामा दिएका हुन्। नियमित अवकाशका लागि करिब डेढ वर्ष सेवा अवधि बाँकी रहँदै उनले सेवाबाट अलग हुने निर्णय गरेका हुन्।
संघीय निजामती सेवा विधेयकमा प्रस्ताव गरिएको ‘३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर’ सम्बन्धी व्यवस्थालाई लिएर कर्मचारी वृत्तमा बहस र चासो बढिरहेका बेला पाण्डेको राजीनामा आएको छ।
उक्त व्यवस्थाले लामो समयदेखि सरकारी सेवामा रहेका कर्मचारीको सेवा अवधि, अवकाश र निवृत्तिभरणसँग सम्बन्धित विषयलाई लिएर कर्मचारीहरूबीच व्यापक चासो बढाएको छ।
पछिल्लो समय विभिन्न तहका ५३८ निजामती कर्मचारीले राजीनामा दिइसकेका छन्। राजीनामा दिनेमा तीन सचिव र २५ भन्दा बढी सहसचिवसमेत रहेका छन्।
प्रस्तावित ‘३०–५५’ व्यवस्थाले निजामती कर्मचारीको भविष्यको सेवा अवधि र अवकाश व्यवस्थामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यसबारे कर्मचारी वृत्तमा छलफल तीव्र बनेको छ। यस्तै परिस्थितिमा सहसचिव पाण्डेको राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ।



प्रतिक्रिया